काठमाडौँ- सात दिनसम्म नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको स्थायी कमिटी बैठकले नेकपा केन्द्रीय कमिटी पुस २३ गतेदेखि गर्ने निर्णय गरेको छ। स्थायी कमिटी बैठकले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन परिमार्जन गरी सर्वसम्मतिले पारित गरेको छ।
विधान संशोधनको प्रस्तावलाई अन्तिम रुप दिएर केन्द्रीय कमिटीलाई पठाउने निर्णय गरिएको छ। त्यस्तै, कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भएकाले भारतको नक्सा अस्वीकार गर्दै त्यहाँबाट भारतीय सेना हटाउन पहल गर्ने र समस्या समाधान गर्न कूटनीतिक रुपमा गर्ने निर्णय पनि स्थायी कमिटी बैठकले गरेको छ। नेपालले निमार्ण गर्न थालेका कतिपय क्षेत्रमा भारतले गरेको अवरोध हटाउन सरकारले आग्रह गर्नुपर्ने निर्णय पनि बैठकले गरेको छ ।
नेकपा केन्द्रीय कार्यलयको आफ्नै भवन बनाउने निर्णय पनि बैठकले गरेको छ। स्थायी कमिटी बैठकमा चर्काचर्की परेको विवादास्पद एमसिसी विधेयकको जिम्मेवारी नेकपा सचिवालयलाई दिने निर्णय पनि बैठकले गरेको छ।
यस्तै पार्टी एकताको काम केन्द्रीय कमिटी बैठक अघि सक्ने निर्णय पनि गरेको छ। सवारी दुर्घटनामा ठूलो जनधनको क्षति भइरहेकोतर्फ ध्यान दिँदै सडक सुरक्षाका लागि प्रभावकारी कदम चाल्न सरकारलाई आग्रह गर्ने निर्णय पनि बैठकमा भएको छ । यो सँगै बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्य लाभ भएर नियमित काममा फर्कन कामना गरेको छ ।