काठमाडाैं । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको ध्यान कसरी सत्ता कब्जा गर्ने भन्नेमा रहेको आरोप लगाएका छन् । आफूले षड्यन्त्रकारी राजनीति छाड्नुस्, बेइमानी नगर्नुस भनेर तीन बर्षदेखि सम्झाउँदैं आएको बताउँदैं प्रधानमन्त्री ओलीले आफूले मित्रताले अंगालो हाल्दा प्रचण्डले धृतराष्ट्रले जस्तो अंगालो हालेको बताए ।
ओली समूहले बुधबार आयोजना गरेको सुदूरपश्चिमस्तरीय भेलालाई सम्बोधन गर्दै ओलीले प्रचण्डमाथि कटाक्ष गर्दै तीन वर्षमा ‘डोब’ साबुनका धेरै डल्ला खर्च भएको र ड्रमका ड्रम पानी खतम भएको बताए । अगाडि उनले भने,‘साबुन लायो, पखाल्यो जस्तोको तस्तै । अन्तिममा देखिहाल्नुभयो के हुँदोरहेछ ।’
ओलीले छोरी जिताउन प्रचण्डले मतपत्र च्यातेर प्रजातन्त्र धुजा–धुजा पारेको टिप्पणी गरे । ‘छोरी जिताउन नसकेपछि मत पत्र च्यातेर प्रजातन्त्र धुजा–जुधा बनाउनु भयो,’ उनले भने, ‘छोरी जिताउनकै लागि कांग्रेसँग मिल्नु भयो तर खासै उपलब्धी भएन ।’
‘प्रतिनिधि सभाको पुनस्थापना गर्न संविधानले दिदैंन’
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद पुनःस्थापना गर्न संविधानले नै नमिल्ने दाबी गरेका छन् । काठमाडौंमा बुधबार सुदूरपश्चिम प्रदेशका कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अब चुनावको बिकल्प नभएको दाबी गरे ।
‘संसद पुनर्स्थापना गर्न संविधानले मिल्दैन,’ उनले भने, ‘जतिबेला मैले विघटनको सिफारिस गरेँ त्यसबेला संसदको ६४ प्रतिशतको नेता मै हो। सरकार बन्ने विकल्प थिएन भने केका लागि पुनर्स्थापना? यो सम्भावना छैन।’