बुटवल । केपी ओपी पक्षीय नेकपाका महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलले फुटको संघारमा रहेपनि नेकपाका दुवै पक्ष मिल्न सक्ने सम्भावना नसकिएको बताएका छन् । ईकागजसँगको अन्तरवार्तामा नेकपाका सचिवालय सदस्य समेत रहेका नेता पौडेलले दुवै पक्षले पार्टी विभाजनको कारण खोज्नुपर्ने बताए ।
उनले अध्यक्ष पुष्पकमल दाहालले पार्टीका पहिलो वरीयताका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीका विरुद्धमा लगाएको आरोप पत्र नै पार्टी विभाजनको आधारपत्रका रूपमा प्रस्तुत भएको आरोप लगाए ।
‘त्यो आरोपपत्र फिर्ता लिएर, जे जति कमी कमजोरी भए त्यसलाई महसुस गरेर फेरि एकतातर्फ जाउँ भनेर तत्परता देखाउनुभयो भने पार्टी एक भएर निर्वाचनमा जान सक्छ ।,’ अन्तरवार्तामा पौडेलले भनेका छन्‘ उहाँ त्यो आरोपपत्र फिर्ता लिएर कमजोरी सच्याउँदै सहमतितिर फर्कन तयार हुनुहुन्छ कि हुनुहुन्न भन्नेमा यी सबै विषयहरू निर्भर छन् ।’
उनले प्रतिनिधिसभा पुनःस्थापना हुन्छ कि निर्वाचनको निर्णय सदर हुन्छ भन्ने कुरा अब पार्टी र राष्ट्रपतिको हातमा नभएको बताउँदैं अदालतको क्षेत्राधिकारभित्र पुगिसकेको बताए । अघि उनले भने,‘मेरो आफ्नो बुझाइमा प्रतिनिधिसभा पुनःस्थापनाको सम्भावना छैन । प्रतिनिधिसभाको पुनःस्थापना नभए पनि पार्टी फुट्नैपर्छ भन्ने त छैन ।’
आरोपपत्र फिर्ता लिएर गल्ती, कमजोरीप्रति आत्मालोचना गरेर एक भएर निर्वाचनमा जाने बाटो त प्रचण्डलाई सधैं खुला रहेको उनले बताएका छन् ।
‘बाहिरी दवाव छैन’
पार्टीको सम्भावित विभाजनलाई लिएर भारत र चिनको संलग्नताबारेको प्रश्नमा नेता पौडेलले पार्टीको विवाद सबै आन्तरिक भएको बताएका छन् । उनले कसैले चासो प्रकट गरेको भएपनि मिल्न वा फुट्न कसैले दवाब नदिएको बताए । ‘दवाब आएको पनि छैन र त्यस्तो दवाब स्वीकार्ने सवाल पनि हुँदैन ।’ अन्तरवार्तामा उनले भनेका छन् ।