विराटनगर- प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले १५ जना सांसद्लाई निलम्बन गरेका छन्। आफू विरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेको भन्दै १५ जना सांसदहरुलाई ३ महिनाको लागि निलम्ब गरेको राइले जानकारी गराएका छन्। मुख्यमन्त्रीविरूद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्नेमध्ये १९ जनालाई स्पष्टिकरण सोधिएकोमा १५ जनालाई निलम्बन गरिएको हो ।
निलम्बन पर्नेमा प्रदेश सांसद् भीमप्रसाद आचार्य, जीवन घिमिरे, ईन्द्रबहादुर आङ्बो, विजयकुमार विश्वास, सावित्राकुमारी रेग्मी, उपेन्द्र घिमिरे, लिलावल्लभ अधिकारी, राजेन्द्रकुमार राई , यशोधा अधिकारी, लछुमन तिवारी, मोहन कुमार खड्का, कुलप्रसाद साम्बा, धिरेन्द्र शर्मा, टंक आङबुहाङ, कुसुम कुमारी श्रेष्ठ छन् ।
बिहीबार प्रचण्ड–माधव समूहले मुख्यमन्त्री शेरधन राईलाई संसदीय दलको नेताबाट हटाउने निर्णय गर्दै भीम आचार्यलाई दलको नेता चयन गरेको छ । गत आइतबार मुख्यमन्त्री राईविरुद्ध ३७ जना सांसदको हस्ताक्षर सहित अविश्वासको प्रस्ताव दर्ता भएको थियो ।