बुटवल । प्रतिनिधिसभाको असंबैधानिक विघटनको विरोधमा दहाल–नेपाल नेकपाको लुम्बिनी प्रदेश कमिटीले संघर्षका कार्यक्रमहरुलाई तिब्र बनाउने निर्णय गरेको छ । कमिटीको विहीबार बसेको बैठकले प्रधानमन्त्री ओलीको कदमको विरोधमा प्रदेशभरी आन्दोलन तीब्र पार्ने निणर्य गरेको हो ।
बैठकमा उपस्थित नेताहरू युवराज ज्ञवाली, वर्षमान पुन, घनश्याम भुसाललगायतले संघर्षका कार्यक्रमहरूलाई व्यवस्थित ढंगले सफल पार्ने निर्णय गरेका हुन् ।
स्थायी समिति सदस्य वर्षमान पुनले प्रधानमन्त्री केपी ओलीले मुलुकमा निरंकुशता लाद्ने प्रयास गरिरहेको बताएका छन् । ओलीले राज्य शक्तिको दुरुपयोग गर्न राष्ट्रिय अनुसन्धान विभाग, राजश्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धिकरण विभाग आफू मातहत राखेको चर्चा गरे ।
संविधानमा स्पष्ट रूपमा नेपाललाई समाजवाद उन्मुख मुलुक भनिए पनि ओलीको चरित्र र अभ्यास भने दलाल पूँजीपति रहेको उनको भनाइ थियो । नेता पुनले नेपालको सम्पूर्ण अर्थ व्यवस्था व्यक्तिको मुठ्ठीमा पार्ने गरी ओली अगाडि बढेको दाबी गरे । तर, असंवैधानिक प्रतिनिधिसभा विघटनको जगमा निरंकुश सत्ता चलाउने ओलीको प्रयास कुनै हालतमा सफल हुन नदिने चेतावनी उनले दिए ।
‘ओलीले निरंकुश सत्ता चलाउने मनसायले असंवैधानिक बाटो हिड्नुभएको छ’, नेकपा पुनले भने, ‘राजामहाराजाको निरंशुकता नटिकेको नेपालमा ओली निरंशुकता धेरै दिन टिक्न दिँदैनौं ।’ नेता पुनले ओलीको असंवैधानिक कदममा राष्ट्रपतिले सहयोगी भूमिका खेलेर संविधानको संरक्षक र राष्ट्राध्यक्षको भूमिकाबाट च्युत भएको टिप्पणी गरे ।
‘मन्त्रीहरूको असहमति र आपत्तिबीच प्रतिनिधिसभा विघटनको सिफारिस गरियो’, उनले भने, ‘राष्ट्रपति र प्रधानमन्त्रीको सेटिङमा प्रतिनिधिसभा विघटन भएको अब घामजत्तिकै छर्लङ्ग भएको छ ।’ फरक प्रसंगमा पुनले केन्द्रीय समितिको झण्डै दुई तिहाइ र संसदीय दलमा बहुमत रहेकाले पार्टीको नाम नेकपा र चुनाव चिन्ह आफूहरूले पाउने विश्वास व्यक्त गरे ।
संघर्षका कार्यक्रमका लागि बैठकले केन्द्रीय सदस्य ठाकुर गैरेको संयोजकत्वमा संघर्ष समिति बनाएको छ । समितिले आन्दोलनका कार्यक्रमहरू तयार गर्ने र प्रदेशका १२ वटै जिल्लामा समन्वय गर्नेे छ । प्रदेश कमिटी सचिव जगप्रसाद शर्माका अनुसार बैठकमा पार्टीका नेताहरू ज्ञवाली, पुन, भुसाल तथा प्रदेश कमिटीका सह–इन्चार्ज कुलप्रसाद केसीले सम्बोेधन गरेका थिए ।