चितवन । नेकपाका केन्द्रीय कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पुष्पकमल दाहाल प्रचण्डलाई माधव नेपालको ढाडमा टेकेर केपी ओलीको टाउको हान्न खोजेको आरोप लगाएका छन् ।
ओली समूहको चितवन भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले भने–‘(प्रचण्डले) ढाडमा टेकेर टाउकोमा हान्ने भन्नुहुन्छ, माधव नेपालको ढाडमा टेकेर केपी ओलीको टाउकोमा हान्न खोज्नुभयो तर एउटै चिजको प्रयोगले सधैं सफल भइँदैन ।’
उनले त्यसरी हान्न खोज्दा प्रचण्ड आफैँ सडकमा पुगेको टिप्पणी गरेका छन् । सडकमा निस्कँदा जनताले साथ देलान् भन्ने सोचेका प्रचण्डलाई आफ्नै कार्यकर्ताले साथ नदिएको दाबी गरे। उनले जनताले साथ नदिएपछि विदेशीसँग हारगुहार गर्न थालेको बताए। ‘उहाँ विदेशीको सहयोग चाहियो भन्न थाल्नुभएको छ,’ पोखरेलले भने, ‘प्रधानमन्त्रीलाई नक्कली राष्ट्रवादी भनेर आरोपपत्र पेश गर्ने व्यक्तिको राष्ट्रवाद सबैले देखिरहेका छन्।’
उनले प्रधानमन्त्रीले कानुनलाई टेकेरै संसद विघटन गरेको दाबी गरे। जनतामा जान नचाहनेहरूले विघटनको विरोध गरेको भन्दै उनले चुनावमा जितेर प्रधानमन्त्री बन्न प्रचण्डलाई चुनौती दिए।