बुटवल । भारतका पूर्वराष्ट्रपति प्रणब मुखर्जीले राजा त्रिभुवन बीर बिक्रम शाहले राखेको नेपाललाई भारतको प्रान्तको रुपमा गाभ्ने प्रस्तावलाई पूर्वप्रधानमन्त्री जवाहरलाल नेहरुले अस्विकार गरेको बताएका छन् । पूर्वराष्ट्रपति मुखर्जीद्वारा लिखीत ‘द प्रेसिडेन्सियल इयर्स’ संस्मरणमा मुखर्जीले यस्तो लेखेका हुन् ।
अध्याय ११ को ‘मेरा प्रधानमन्त्रीहरुः फरक शैलि, फरक स्वभाव’ शिर्षकमा मुखर्जीले लेखेका छन्–‘नेहरुको ठाउँमा इन्दिरा गान्धी हुन्थिन् भने सिक्किममा जस्तै त्यस्तो मौका उनले छाड्ने थिइनन् ।’
पूर्व प्रधानमन्त्रीहरुबारे आफ्ना दृष्टिकोणहरु दिदैं उनी लेख्छन्–‘प्रत्येक प्रधानमन्त्रीहरुको काम गर्ने आ–आफ्नै शैलि छ । लालबहादुर सास्त्रीले आफूलाई नेहरुको भन्दा भिन्दै स्थानमा राख्थे । एउटै पार्टीका भएपनि प्रधानमन्त्रीहरुको बाह्य रणनीति, सुरक्षा र आन्तरिक प्रशासन जस्ता मुद्धाहरुमा धारणा फरक हुन सक्थ्यो ।’
नेहरुले नेपालसँग रणनैतिक तवरले समझदारी कायम गरेको बताउँदैं मुखर्जी लेख्नछन्–‘नेपालमा राणा शासनलाई राजतन्त्रले प्रतिस्थापन गरेपछि उनले प्रजातन्त्रले जरा गाडोस् भन्ने चाहन्थे । अचम्म लाग्छ, नेपालका राजा त्रिभुवन बीर बिक्रम शाहले नेपाललाई भारतकै एउटा प्रान्त बनाउन नेहरुलाई आग्रह गरेका थिए । तर नेहरुले नेपाल स्वतन्त्र राष्ट्र भएको र सधैं त्यस्तै रहन पर्छ भन्ने आधारमा उक्त प्रस्ताव अस्विकार गरे ।’
मुखर्जीले अघि लेख्छन्–‘नेहरुको ठाउँमा इन्दिरा गान्धी भएको भए उनले सिक्किममा जस्तै त्यो मौका गुमाउने थिइनन् ।’
मुखर्जीको किताबलाई लिएर उनका छोरा र छोरी बिच हालसालै टकराब आएको छ । छोरा अभिजीत मुखर्जीले बुवाको संस्मरण प्रकाशित हुनु भन्दा अगाडि आफूले एक पटक हेर्न चाहेको ट्वीटरमा बताएका थिए । अभिजितको ट्वीट श्रीङ्खलापछि प्रणव मुखर्जीकी छोरी सरमिस्था मुखर्जीले किताव प्रकाशनको विषयमा ‘अनावश्यक अवरोधहरु’ सिर्जना गर्न आवश्यक नरहेको प्रतिक्रिया दिएकी थिइन् ।
मुखर्जीकाे गत अगस्ट ३१ मा कोभिड-१९ का कारण ८४ बर्षकाे उमेरमा ज्यान गएकाे थियाे । (न्युज १८ काे सहयाेगमा)