काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष तथा राष्ट्रिय सभा सदस्य वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले अल्पमतमा परेको जानकारी पाएलगत्तै राजीनामा दिनुपर्ने बताएका छन्। राष्ट्रिय सभामा बोल्दै उनले अविश्वास प्रस्ताव दर्ता गर्ने थाहा पाएलगत्तै ओलीले राजीनामा गर्नुपर्ने बताएका हुन्।
ओलीसँग पार्टी जोगाउने अवसरसमेत रहेको उल्लेख गर्दै गौतमले भने, ‘म भएको भए अविश्वास प्रस्ताव लैजान लागेको थाहा पाएपछि त्यसअघि नै राजीनामा दिन्थें। त्यसो भए पार्टी जोगिन्थ्यो।’
गौतमले नेकपाका दुवै गुटले आफ्ना कदमका विषयमा आफूलाई जानकारी दिएको बताए। उनले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन र प्रचण्ड-नेपाल समूहले अविश्वासको प्रस्ताव लैजानेबारे आफूलाई जानकारी नगराएको बताए।
उनले प्रचण्ड-नेपाल समूहबाट कुरा उप्काउँदै भने, ‘पुस ५ गते अविश्वासको प्रस्ताव लैजाँदा मलाई सोधिएन।’ उनले अविश्वासको प्रस्तावबाट आफ्नै पार्टीको नेतालाई पराजित गर्ने काम होला भन्ने सोच्नसमेत नसकेको भन्दै प्रचण्ड-नेपाल समूहसँग तीतो पोखे। यही बीच उनले अविश्वासको प्रस्ताव लैजाने विषयमा उक्त समूहमा लामो समयदेखि कुरा चलिरहेको बताएका छन्।