काठमाडाैं: नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का राष्ट्रिय सभाका प्रमुख सचेतक खिमलाल भट्टराईले केपी शर्मा ओलीकाे ताजा जनादेशमा जाने कदम स्वागतयाेग्य रहेकाे बताएका छन् । उनले ताजा जनादेशका लागि चुनावमा जानु नै वर्तमान राजनीतिको सही निकास भएको बताए ।
बिहीबार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै प्रमुख सचेतक भट्टराईले सरकारलाई काम गर्न नदिइएको, संसद र सरकारलाई साधारण ढंगले चल्न नदिई कारण राजनीतिलाई अस्थिरतातिर जान र धकेलिएको राजनीतिलाई सङग्ल्याउन निर्वाचनमा जानु अनिवार्य आवश्यकता भएको बताए ।
‘धमिलिएको राजनीतिलाई संङल्याउन जनतामा जानु अनिवार्य आवश्यकता बन्न गयो। यसैको परिणामस्वरुप प्रतिनिधि सभाको विघटन र चुनाव मिति घोषणा भयो। प्रतिनिधि सभा विघटनको संविधानमा व्यवस्था नै छैन भन्ने कुरा गलत हो। धारा ७६ र ८५ मा व्यवस्था छ। संसद् विघटन गरेर जनतामा जाने कुनै पनि लोकतन्त्र व्यवस्थामा प्रधानमन्त्रीको विशेषाधिकार सुरक्षित रहन्छ। यो नै लोकतन्त्रको मुल्य र मान्यता हो,' भट्टराईले भने।
प्रतिनिधि सभालाई आफ्नै सरकार ढाल्ने संयन्त्रको रुपमा दुरुपयोग गर्न दाउपेचको अखडा बनाउन थालेपछि प्रधानमन्त्रीले बाध्यात्मक कदमको रुपमा संसद विघटन गरेको भन्दै ताजा जनादेशमा जानु नै वर्तमान राजनीतिको सही निकास हुने बताए। संविधानमा संसद् विघटनको विशेषाधिकार प्रधानमन्त्रीसँग भएको र वर्तमान राजनीतिक अवस्थाको सही समाधान निर्वाचनले नै दिनसक्ने भएकोले सबै चुनावतर्फ केन्द्रीत हुनुपर्ने बताए।
संकट र खतरायुक्त तुइनबाट मानव जीवनलाई मुक्ति दिनु, लोडसेडिङ मुक्त गर्नु तथा संघीयतालाई मजबुद गर्नु लगायत मुख्य काम सरकारले गरेको बताए। प्रधानमन्त्रीलाई संघीयताविरोधी करार गर्न खोजिए पनि संघीयताको संस्थागत विकासको निम्ति कानुनी प्रबन्ध, संरचनागत व्यवस्था, बजेट विनियोजन, कर्मचारी व्यवस्थापन, सुरक्षा अंगहरुको व्यवस्थापन गरी प्रधानमन्त्रीले संघीयतालाई मजबुद बनाएका उनले बताए।