हेटाैडा- बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव प्रदेशसभामा पेस भएको छ। शुक्रबारको प्रदेश सभा बैठकमा उद्योग, वन, वातावरण तथा पर्यटनमन्त्रीसमेत रहेका नेकपाका सांसद अरुण नेपालले मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव टेबुल गरेका हुन्।
प्रचण्ड–नेपाल समूहका ४५ सांसदले मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए। प्रचण्ड–नेपाल समूहका ४५ सांसदले मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । सांसद नेपालले मुख्यमन्त्री पौडेललाई नेकपाको संसदीय दलको नेताबाट पदमुक्त गरिएको र नयाँ मुख्यमन्त्रीको रुपमा अष्टलक्ष्मी शाक्यलाई प्रस्ताव गरिएको प्रदेश सभामा जानकारी गराएका थिए।
मुख्यमन्त्री पौडेलले जनताको पक्षमा कुनै काम गर्न नसकेको, कोरोना महामारीमा प्रदेश सरकारको भूमिका कमजोर रहेको, पार्टी हित विपरीत गतिविधि गरेको कारण अविश्वसको प्रस्ताव दर्ता गरेको बताए। प्रस्तावमाथि प्रदेश सभामा १९ गतेबाट छलफल हुने बताइएको छ।
सभामुख सानुकुमार श्रेष्ठले अबको प्रदेशसभाको बैठकमा अविश्वासको प्रस्तावमाथि छलफल अगाडि बढ्ने जानकारी दिएका थिए। बागमती प्रदेश सभामा नेकपाका ८०, कांग्रेसका २२, विवेकशील साझाका ३, राप्रपा र नेपाल मजदुर किसान पार्टीका २र२ र स्वतन्त्रबाट १ जना सांसद गरि कुल १ सय १० सांसद छन्। बहुमतको लागि ५६ सांसद आवश्यक पर्दछ।