बुटवल । नेकपा दाहाल–नेपाल समूहका नेता तथा पूर्व उर्जामन्त्री वर्षमान पुनले नेपालमा कानूनतः प्रधानमन्त्री नै नरहेको दावी गरेका छन् । प्रधानमन्त्री छँदा केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपपनि बैधानिक प्रधानमन्त्री कोही पनि नरहेको उनको दावी थियो ।
आदिवासी जनजाती महासंघ नेपाल, रुपन्देहीले आइतबार बुटवलमा आयोजना गरेको राजनीतिक प्रशिक्षणमा बोल्दै पूर्वमन्त्री पुनले संविधानको धारा ७६ अनुसार प्रतिनिधि सभाको अस्तित्व नै नरहेका बेला प्रधानमन्त्री बैधानीक हुनै नसक्ने बताएका हुन् ।
‘ओलीजीले प्रतिनिधिसभा विघटन गरेको भन्दै हिँड्नुभएको छ, प्रतिनिधिसभा सदस्य नै नभएपछि ओलीजी कसरी प्रधानमन्त्री हुनुभयो ?’ उनले प्रश्न गरे ।
प्रतिनिधिसभा विघटन गरेर केपी ओली नेतृत्वले संघीयता, धर्मनिरपेक्षता, समावेशितालाई खोस्न खोजेको आरोप लगाए । त्यसका लागि हरेक सचेत नागरिक विरोधमा उत्रनु पर्ने उनको जिकीर थियो । ‘राष्ट्रिय, अन्तर्राष्ट्रिय सेटिङमा चालिएको कदम हो’ नेता पुनले भने, ‘प्रतिगमनविरुद्ध हरेक सचेत नागरिक विरोधमा उत्रनुपर्छ।’
उनले कामचलाउ प्रधानमन्त्री ओलीलाई बैशाखपछि झ्यालबाट पछार्ने समेत बताए। पछिल्ला केही समययता भारतका गुप्तचर, सेनाका प्रमुखसहित मिडियासमेत आउनुले संसद विघटनमा अन्तर्राष्ट्रिय शक्तिको समेत चलखेल भएको अनुमान गर्न सकिने उनले बताए ।