दाङ । प्रधामन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा विघटन ठिक कि बेठिक भन्ने कुराको फैसला जनताले गर्ने लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल बताएका छन् ।
आईतबार दाङको गढवा गाउँपालिकामा निर्माण भएको प्रशासनिक भवनको उद्घाटन गर्दै मुख्यमन्त्री पोख्रेलले बैशाखमा हुने निर्वाचनमा कुन निर्णय ठिक, कुन निर्णय बेठिक भनेर फैसला हुने बताए ।
‘हो यो लडाइँमा केपी ओली कति ठिक कति बेठीक भन्ने कुरा अब चुनावमा जनताले ‘जजमेन्ट’ गर्नुहुन्छ । उहाँले गरेको कदम बेठीक ठान्नुभयो जनताले दण्डित गर्नुहुन्छ’उनले भने–‘प्रधानमन्त्रीको कमद राष्ट्रियताको पक्षमा मुलुकको स्थायित्वको पक्षमा, समृद्धिको पक्षमा जायज रहेछन भन्ने जनताले ठान्नुभयो भने फेरि अनुमोदन गर्नुहुने छ ।’
उनले अगाडि थपे–‘लोकतन्त्रको सुन्दरता भनेको यहीँ हो । यसलाई हामीले अन्यथाको रुपमा लिन हुदैन ।’
केपी ओली पक्षीय नेकपाका स्थायी कमिटि सदस्यसमेत रहेका मुख्यमन्त्रीले अहिले देखिएको मतभेदहरु राजनीतिक रुपमा हल गर्नुपर्ने बताए ।
‘चार महिना पछि सबै चिज सामान्य भैहाल्ने वाला छ, यत्रो तनाव गर्नुपर्ने जरुरी थिएन । चार महिना सम्मको लागि मात्रै प्रतिनिधि सभा नभएको हो । चार महिना पछि प्रतिनिधि सभा आइहाल्ने वाला छ’उनले भने–‘यति सारै तनावको बिषयबस्तु बनाउने, जनतालाई दिग्भ्रमित गर्ने, राष्ट्रलाई अन्यौलमा राख्ने खालको काम हाम्रा ठूला नेताहरुले नगर्दिए हुन्थ्यो भन्ने लाग्छ ।’