बुटवल- नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड माधव समुहका नेता बर्षमान पुनले निर्वाचन आयोगमा निर्णय गर्ने क्षमता नै नदेखिएको टिप्पणी गरेका छन्। आइतबार आयोगले नेकपा विभाजन नभएको र पुरानै अवस्थालाई मान्यता दिएपछि पुनको यो प्रतिक्रिया आएको हो। रिपोटर्स क्लब लुम्बिनीले आज बुटवलमा गरेको कार्यक्रममा पुनले आयोगले विवाद मात्र पन्छाउने काम गरेर निर्णय गर्न नसकेको बताए। ‘निर्वाचन आयोगले आफ्नो संबैधानिक र कानूनी जिम्मेवारीलाई प्रयोग गरेन। विवादलाई पन्छाउने काम मात्र ग¥यो।’ उनले भने ‘आयोगमा निर्णय गर्ने क्षमताको अभाव देखियो।’
दुइ पार्टी एकता हुँदा ४ सय ४१ जनाको केन्द्रीय समिति रहेको र त्यसको ७० प्रतिसत आफ्नो समुहमा रहेको पुनले बताए। ‘२ सय ९६ जनाले हस्ताक्षर नै बुझाइसकेका छौं। त्यही नै आधिकारीक हो।’ उनले भने । पुनले कार्यकारीको अगाडी संबैधानिक निकाय लाचार बनेको टिप्पणी गरे। आयोगको निर्णय बारे पार्टीले आफ्नो धारणा बनाउने र आयोग मार्फत जाने कि अदालत मार्फत जाने भनेर तय हुने उनले जानकारी दिए।
प्रधानमन्त्री केपी ओलीले संविधानले कहिँ पनि नदिएको कदम उठाएको भन्दै प्रधानमन्त्रीले राजनीतिक रुपमा नै सच्याउनुपर्ने उल्लेख गरे।
पूर्व उर्जामन्त्री समेत रहेका पुनले अहिले ठाउँ ठाउँमा अघोषित रुपमा लोडसेडिङ हुनु दुभाग्य भएको बताए। आफू मन्त्री भएपछि औद्योगिक क्षेत्रको लोडसेडिङ पनि हटाएको भन्दै उनले अहिल लोडको समस्या नभएको उल्लेख गरे। व्यवस्थापनको कारणले मात्र विद्युत आपूर्तिमा समस्या आएको भन्दै पुनले जिल्ला जिल्लामा पुगी भाषण गर्न छाडेर मन्त्रालयको काममा ध्यान दिन अहिलेका उर्जामन्त्री टोपबहादुर रायमाझीलाई सुझाब दिए ।
‘देशभर गुटबन्दी गर्दै हिड्नेे प्रचण्ड र माधव कमरेडलाई गाली गर्न भन्दा काम गरेर देखाए कसैको खण्डन गर्नुपर्दैन।’ उनले भने ‘मन्त्री जिल्लामा भाषण गर्दै हिड्दा कर्मचारीले काम गर्दैन। काम नगरेपछि लोडको व्यवस्थापन हुँदैन।’