दाङ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको साथ लिएर देश बनाउने दिशामा आफु रहेको दाबी गरेका छन् ।
‘म असफल भएर केही हुदैन । देश असफल हुनुहुँदैन । जनता असफल हुनुहुँदैन । हामीले प्राप्त गरेका उपलब्धीहरु गुम्न दिन हुँदैन’उनले भने–‘म शासनमा बसिरहन्छु भन्या छैन । मलाई काम गर्न खोज्दा खोज्दै पनि कामै गर्न नदिने तत्वलाई दण्डित गर्न चुनावमा जाने घोषणा गरेको हुँ । त्यस्ता नेतालाई जनताले छानीछानी दण्डित गर्ने छन् ।’
संसदमा ‘झुक्किएर पनि कुतत्वहरुलाई जिताएर नपठाउन’ उनले आह्वान गरेका छन् ।‘संसद जस्तो गरिमामय ठाउँमा, कानुन बनाउने ठाउँमा उम्किएर पनि, झुक्किएर पनि पुग्न दिन हुदैन,’ उनले भने–‘चुनावमा सानदार विजय हासिल गरेर देशलाई अघि बढाउने छौं ।’
देशमा अब कोही भोको बस्नुनपर्ने, भोको बस्न नदिइने सरकारको स्पष्ट नीति रहेको उनले दावी गरे । ‘अब कोही भोको बस्नुपर्ने छैन् । भोको बस्न दिइने छैन,’उनले भने–‘सडकमा कोही पनि सकक आश्रीत मानव रहने छैनन् । सबैलाई उद्धार गरिने छ । सडक बालबालिकालाई सरकारले उद्धार गरेको छ ।’
दाङमा औद्योगिक क्षेत्र
मन्त्रिपरिषद्को बैठकले दाङको घोराहीमा औद्योगिक क्षेत्र बनाउने निर्णय गरेको प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी दिए । ‘दाङलाई औद्योगिक क्षेत्र बनाउन चाहन्छौं । त्यसका लागी हामीले मन्त्रिपरिषद्को बैठकबाट निर्णय गरिसकेका छौं,’उनले भने–‘दाङमा एयरपोर्ट बनाउने दिशामा हामी गएका छौं ।’
लुम्बिनी प्रदेशको स्थायी राजधानीलाई आधुनिक शहरको रुपमा विकास गराउने प्रतिबद्धता समेत उनले व्यक्त गरे ।
त्यस्तै लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले निर्वाचनबाट नेपाल कम्यूनिष्ट पार्टी कमजोर नभएर अझ बलियो हुने दाबी गरे । ‘जनमतलाई बीचमै अपरहण गर्न खोजियो । प्रधानमन्त्रीले त्यो षड्यन्त्रलाई असफल पारिदिनुभयो,’पाखरेलले भने–‘लोकतन्त्रलाई बलियो बनाउन चुनाव चाहिन्छ । चुनावलेनै देशमा निकास दिन्छ ।’
लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरीलाई आधुनिक राजधानी शहरको रुपमा विकास गरिने बताए । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्बाङले सुदृढ कम्यूनिष्ट पार्टी निर्माणको बाटोमा आफुहरु रहेको बताए ।
‘यो देशको नेतृत्व अव फेरी केपी शर्मा ओलीले गर्नुपर्छ’उनले भने–‘उहाँको नेतृत्वमा समृद्ध नेपाल, सुखी नेपालीको परिकल्पना पुरा हुन्छ ।’
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्व सरकारको पालामा विकासको पर्रा छुटेको मन्त्री नेम्वाङ्गले बताए । ‘हरेक दिन एउटा पुल निर्माण सम्पन्न भैरहेको छ । हरेक दिन दुई किलोमिटर नयाँ सडक बनईरहेको छ’उनले भने–‘विकास भएन भन्नेहरु कहाँ छन् ? सरकारको यो काम देख्छन की देख्दैनन ।’
खानेपानी मन्त्री मणी थापाले प्रचण्डले नेपाली जनतालाई धोका दिदै आएको दाबी गरे । ‘जनयुद्धलाई धोका दिनुभयो । सहकर्मी साथिहरुलाई धोका दिनुभयो । अझैं भन्ने हो भने नेपाली जनतालाई प्रचण्डले धोका दिनुभयो,’ उनले भने–‘प्रचण्डको राजनीति धोकादारी राजनीति भयो ।’
आमसभलाई नेपाल कम्यूनिष्ट पार्टी नेकपाका केन्द्रिय सदस्य शान्ता चौधरी, प्रदेश सभा सदस्य रेवतीरमण शर्मा लगायतले संवोधन गरे ।
सभामा राष्ट्रिय सभा सदस्य कोमल ओलीले प्रधानमन्त्रीको पक्षमा सांगेतिक प्रस्तुती राखेकी थिइन् । नेकपा जिल्ला सदस्य तथा लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिवालय सदस्य मनोहर बुढाथोकीले गरेका थिए । आमसभाको अध्यक्षता नेकपा दाङका सचिवालय सदस्य हुकुमबहादुर बस्नेतले गरेका थिए ।