काठमाडौ । उपसभामुख डा.शिवमाया तुम्बाहाङ्फेले आफ्नै अध्यक्षतामा बसेको प्रतिनिधिसभा बैठकबाट राजीनामा दिएकी छन् ।
पुस ४ मा पनि उनले नै बैठकको अध्यक्षता गरेकी थिइन् । तर, त्यस पछाडि लगातार सूचना टाँसेर स्थगित हुँदै आएको थियो । सोमबार दिउँसो एक बजे बोलाइएको बैठकको अध्यक्षता पनि उपसभामुख तुम्बाहाङ्फेले नै गरिन् ।
आफ्नै अध्यक्षतामा चलेको बैठकलाई सम्बोधन गर्दै उनले राजीनामा दिएकी हुन् । उनले संसद बैठकलाई सम्बोधन गर्दै राजीनामा दिएकी हुन् ।
संसदलाई सम्बोधन गर्दै उनले भनिन्, “ मैलै सहजीकरण गर्न आवश्यक भएको छ । यसैअनुसार, मार्ग प्रशस्त गर्ने निष्कर्षमा पुगेको व्यहोरा जानकारी गराउँछु ।” उपसभामुख तुम्बाहाङ्फे दुई वर्षे कार्यअवधिमा साथ सहयोग दिने सवैलाई धन्यवाद दिइन् ।
सांसदहरुलाई मार्ग प्रशस्त गराएकाे जानकारी दिएकी उपसभामुखले पदबाट लिखित राजीनामा संसद सचिवालयमा दर्ता गराइने भएकाे छ ।
बाजी मैले नै मारें : तुम्बाहाङ्फे
संसद सचिवालयमा राजीनामापत्र बुझाएपछि संसद भवन बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै तुम्बाहाङ्फेले संविधानले नै प्रतिनिधिसभालाई नेतृत्वविहीनको कल्पना नगरेकाले अहिलेसम्म राजीनामा नदिएको स्पष्ट पारेकी हुन् ।
संसदको ठूलो पार्टीले सभामुखको उम्मेदवारको टुंगो लगाएकाले आफूले सोमबार मात्रै राजीनामा दिएको स्पष्ट पारेकी हुन्।राजीनामा नगर्नु र सभामुखका लागि दाबी गर्नुमा आफूलाई कुनै संस्था वा व्यक्तिको संरक्षण नभएको पनि स्पष्ट पारिन्।
उनले भनिन्, ‘मेरो ब्याकअपमा कुनै व्यक्ति वा संस्था होइन,संविधान थियो। व्यक्ति र संस्था संविधानपछिका हुन्। मलाई संविधानले नै यहाँसम्म पुर्याएकाे हो। आज पनि अगाडि बढेको भए नेकपासँग संविधानअनुसार महाभियोग लगाउने मात्र विकल्प थियो। मैले हटाउने भए महाभियोग लगाएर हटाउ पनि भनेकी थिएँ, तर हामी सबैले यसको सहज निकास निकाल्यौँ।’
संस्थालाई प्रणालीगत रुपमा अगाडि बढाउने सवालमा आफूले बाजी मारेको दाबी गर्दै उनले भनिन्, ‘बाजी मैले नै मारें। अब मेरो कामको ट्रयाक चेन्ज भएको छ। परिवर्तन भएको छ। युटर्न भएको छ। म नयाँ लक्ष्यसहित अगाडि बढ्नेछु।’ तर तुम्बाहाङ्फेले ‘युटर्न’, ‘नयाँ लक्ष्य’ र ‘ट्रयाक चेन्ज’ के हो त भन्ने प्रश्नको उत्तरमा भविष्यमै दिने बताइन्।