बुटवल । प्रचण्ड–नेपाल पक्षीय नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी शर्मा ओलीको निरंकुशता धेरै नटिक्ने दावी गरेका छन् । केपी ओलीले जनताका सपनामाथि कुठाराघात गरेको आरोप लगाउँदैं प्रचण्डले ‘केपी ओलीको निरंकुशता चुट्कीको भरमा ध्वस्त हुने’ बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदमबाट गरेको प्रतिनिधि सभाको विघटनविरुद्ध बुटवलमा आयोजना गरिएको विशाल विरोधसभालाई सम्बोधन गर्दै प्रचण्डले भने–‘आज केपी ओलीले सबै जनताको सपनामाथि कुठारागात गर्ने, लोकतन्त्रको हत्या गर्ने र श्री ३ महाराजधिराज बन्ने सपना देखेका छन् । अब केपी ओलीको निरंकुशता चुट्कीको भरमा ध्वस्त हुने छ ।’
उनले केही महिनाभित्रै ‘केपीको स्वेच्छाचारिता अन्त्य हुने र नयाँ युगको सुरुवात हुने’ दाबी गरे ।
बुटवलको विशाल भेलालाई सम्बोधन गर्दै उनले केपी ओलीबाट संविधान र लोकतन्त्रको हत्या भएको भन्दै त्यसको रक्षाका निम्ती अपील गर्न आफू आएको बताए । पार्टी एकताको मर्म विपरित केपी ओलीले तीन बर्ष नवित्दै एकताको सहमती तोड्ने काम गरेर ‘आज आफ्नै पार्टी भित्र आफैंले बनाएको प्रधानमन्त्री र अध्यक्ष निरंकुशताको एजेन्ट जस्तो देखा परेको’ प्रचण्डको आरोप थियो ।
उनले ओलीको प्रतिगमनविरुद्ध अदालतमा गएको मुद्धाबारे अदालतले सुनाउने फैसालाप्रति पूर्ण विश्वस्त रहेको बताए । प्रचण्डले भने–‘म आशंका गर्न चाहान्न ।’