काठमाडौँ - प्रचण्ड-माधव समुहले नेकपाको दुबै समूहसँगको छलफल केही दिन पर सार्न आग्रह गरेको छ। दुबै अध्यक्ष काठमाडौँ बाहिर रहेकाले १८ गतेपछि मात्रै छलफल गराउन सो समुहले आयोगलाई आग्रह गरेको हो ।
शुक्रबार नेकपा नेताहरु राजेन्द्र पाण्डे, लीलामणि पोखरेल र मुक्ति प्रधान निर्वाचन आयोग पुगेर माघ १८ गतेपछि मात्र छलफल गर्न माग गर्दै निर्वाचन आयोगमा पत्र बुझाएका हुन्। पुष्पकमल दाहाल र माधवकुमार नेपाल शुक्रबार विराटनगरको कार्यक्रममा रहेका छन्। भोली धनगढीको कार्यक्रममा सहभागी हुँदैछन्।
अध्यक्षद्वयले आफैँ उपस्थित भएर छलफल गर्न चाहेका कारण केही दिन समय सारिदिन आग्रह गरिएको सो समूहले बतायो। बिहीबार पत्र काटेर आयोगले निर्वाचनको प्रयोजनका लागि नेकपाका दुवै समूहका अध्यक्ष वा अध्यक्षले तोकेका पाँच पाँच जनालाई शुक्रबार छलफलका लागि बोलाएको थियो।