दाङ । लुम्बिनी प्रदेशको स्थायी राजधानी व्यवस्थापनको लागी राप्ती प्राविधिक शिक्षालय मौरीघाटलाई गढवा गाउँपालिका स्थित सरस्वती माध्यमिक विद्यालय विद्यानगर गोवरडिहामा स्थनान्तरण गर्ने प्रक्रिया सुरु भएको छ । तत्काल स्थानान्तरण गर्न सकिने विकल्पको बारेमा छलफल भएको हो ।
लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयले राप्ती प्राविधिक शिक्षालय स्थनान्तरण गर्न समन्वयको भूमिका निर्वाह गरेको छ । तत्काल स्थानान्तरण गर्न सकिने र लामो समय लाग्न सक्ने बिषयहरुको सूची बनाएर स्थानान्तरण गरिने मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका उपसचिव सुरेशचन्द्र आचार्यले जानकारी दिए ।
लुम्बिनी प्रदेश सरकार मन्त्रीपरिषदको मंसिर १५ गते बसेको बैठकले राजधानी व्यवस्थापनको लागी शिक्षालयलाई सरस्वती माध्यमिक विद्यालय गोवरडिहामा स्थानान्तरण गर्ने निर्णय गरेको थियो । सोही निर्णयको आधारमा राप्ती गाउँपालिकामा बसेको वैठकले तत्काल शिक्षालयलाई स्थानान्तरण गर्ने बिषयमा छलफल भएको हो ।
राप्ती प्राविधिक शिक्षालयको पठन पाठन र ल्यावको सामाग्रीलाई सरस्वती माध्यमिक विद्यालयमा स्थानान्तरण गर्ने, सरस्वती माध्यमिक विद्यालयको पठन पाठनलाई प्राथमिक विद्यालयको खाली रहेको भवनमा सार्नेगरी प्रक्रिया थालिएको छ ।
‘कार्ययोजना बनाएर राप्ती प्राविधिक शिक्षालयलाई सरस्वती माध्यमिक विद्यालयमा सार्ने निर्णय भएको छ’उपसचवि आचार्यले भने–‘सरस्वती माध्यमिक विद्यालयको पठन पाठनलाई प्राथमिक विद्यालयको संरचना प्रयोग गर्ने, संरचनाको मर्मत र नयाँ बनाउनुपर्ने भएमा संरचना थप गर्ने निर्णय भएको छ ।’
शिक्षालय स्थानान्तरण गर्ने बिषयमा सोमबार छलफल भएको छ । लुम्बिनी प्रदेशका प्रमुख सचिव भरतमणी सुवेदी, मुख्यन्याधिवक्ता ठाकुरप्रसाद डिसी, राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी, गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादव, मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव नारायणप्रसाद शर्मा, कानुन सचिव राजेन्द्र थापा, सामाजिक विकास मन्त्रालयका सचिव माहादेव पन्थ, प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, शिक्षालयका प्रमुख मोतिलाल चौधरी लगायतको उपस्थितीमा बैठक बसेको थियो ।
टोलीले शिक्षालय स्थानान्तरण गरिने सरस्वती माध्यमिक विद्यालयको अनुगमन गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यमनारायण पोख्रेल(विश्वास)ले जानकारी दिनुभयो । शिक्षालयलाई उपलब्ध गराउने संरचना ४८ कोठाको भवन रहेको छ । यो भवनाट शिक्षालय सञ्चालन गर्न निस्कर्ष निकालिएको छ ।
गत असोज २० गतेको प्रदेश सभाको बैठकले प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरी र नाम लुम्बिनी राख्ने निर्णय गरेको थियो । माघ १६ गते देउखुरीमा प्रदेश पूर्वाधार विकास प्राधिकरणको कार्यालय स्थापना गरिएको छ । यो कार्यालयले राजधानी शहरको मास्टर प्लान र डिपिआर तयार पार्ने छ ।