भैरहवा – सरकारले घोषणा गरेको आगामी २०७८ को चुनावको प्रचार प्रसारका लागि हेलीकप्टर प्रयोग गर्न पनि पाइने भएको छ। जिल्ला निर्वाचन कार्यालय रुपन्देहीले भैरहवामा निर्वाचन आचार संहिताका बिषयमा सरोकारवाला निकायको छलफलमा राजनीतिक दलले हेलिकप्टर प्रयोग गर्न सक्ने प्रावधान रहेको जानकारी दिएको छ ।
आयोगले निर्वाचन आचारसंहिता, २०७२ लाई प्रतिस्थापन गर्न निर्वाचन आचारसंहिता, २०७७ निर्माणकोे प्रक्रियामा छ, सोही विषयमा छलफल भएको हो। आयोगले जुलुस, आमसभा, कोणसभा, ¥याली, बैठक एवम् भेला गर्दा प्रचार प्रसारको लागि राजनीतिक दलले आफ्नो तर्फबाट तीनजना मुख्य प्रचारकको नाम आयोगमा बुझाउनु पर्ने र आयोगले अनुमति दिएका मुख्य प्रचारकले मात्र हेलिकप्टर प्रयोग गर्न सक्ने व्यवस्था रहेको जानकारी गराइएको थियो ।
गत आम चुनावमा विरोध भएको यो विषय यसपटकको निर्वाचनमा खर्च ब्यबस्थापन र प्रचारलाई कडाइ गरेको भनिए पनि हेलिकप्टरलाई छुट दिइएको छ । हेलिकप्टर प्रयोग गर्दा राजनीतिक दलको लागि आयोगले निर्धारण गरेको निर्वाचन खर्चको सीमाभित्र रही खर्च गर्न पाउने जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्या भण्डारीले जानकारी दिए।
आचारसंहिता उल्लंघन गरेमा एक लाख जरिवाना गर्ने र उम्मेदवारी खारेज सम्म गर्ने ब्यबस्था पनि गरेको छ। आयोगले आगामी सबै चुनावलाई केन्द्रमा राखेर आचारसंहिता बनाएको छ। त्यस्तै स्थानीय तहको कुनै पदको निर्वाचन प्रचारप्रसारको लागि राजनीतिक दलले आयोगले तोकेको सङख्या र प्रकारका सवारी साधन मात्र प्रयोग गर्नुपर्ने।
सवारी साधनको प्रयोग गर्नु अघि राजनीतिक दल वा दलको निर्वाचन प्रतिनिधिले त्यस्तो सवारी साधन प्रयोग गर्न अनुमतिका लागि सम्बन्धित निर्वाचन अधिकृत समक्ष तोकिएको ढाँचामा निवेदन दिनुपर्ने। निर्वाचन अधिकृतले तोकिएको ढाँचामा सवारी साधन प्रयोग गर्न अनुमतिपत्र दिने र त्यस्तोे अनुमतिको अभिलेख राख्नुपर्ने उल्लेख छ।राजनीतिक दल, उम्मेदवार तथा दलको भातृ संगठनले जुलुस, आमसभा, कोणसभा, ¥याली, बैठक एवम् भेला गर्दा भाग लिने व्यक्तिले दलको निर्वाचन चिन्ह वा झण्डा अंकित कपडा, टोपी (क्याप), भेष्ट लगाउन वा झोला बोक्न नहुने आचारसंहितमा उल्लेख छ।
त्यस्तै पाँचहजार रूपैयाँभन्दा बढी चन्दा लिँदा बैङ्क वा वित्तीय संस्था मार्फत लिनुपर्ने, चन्दाको रूपमा नगद लिएमा चन्दा दिने व्यक्ति वा संस्थालाई सो रकम बुझेको रसीद वा भरपाई दिनुपर्ने छ । आचार संहिता राम्रो भए पनि कर्यान्वयनका पाटोहरु कमजोरी हुदा समस्या श्रृजना हुने गरेको सहभागीले बताएका थिए।