काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुविरुद्ध प्रचार आक्रमण तीव्र रुपमा भइरहेको बताएका छन् ।
नेकपाको जारी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने, “कमरेडहरु ! हाम्राविरुद्ध प्रचार आक्रमण तीव्र रुपमा छेडिएको छ । युद्ध त दुईतिरबाट हुन्छ । यहाँ त आक्रमण मात्रै भएको छ । हामी विवादबाट होइन । हाम्रा उपलब्धिबाट र नतिजाबाट जवाफ दिन्छौं ।”
उनले लोकतन्त्रप्रति आफूहरुको निष्ठामा प्रश्न उठाइएको बताउँदै भने, “हाम्रो पार्टीको नामको कारणले कतिमा वैचारिक पूर्वाग्रह हुन सक्छ । हामी वैचारिक आग्रह पूर्वाग्रहभन्दा माथि उठ्नुपर्छ ।”
ओलीले कालापानी सीमा अतिक्रमणबारे नेपाल सरकारले पहिलोपटक भारत सरकारलाई पत्राचार गरेको बताए।
‘दसीप्रमाणहरुले लिपुलेक, कालापानी र लिम्पियाधुरा हाम्रो भएको देखाउँछ। त्यसका लागि हामीले पत्राचार गरेका छौं र यो विषय हामी संवादबाटै समाधान गर्नसक्छौं,’ प्रधानमन्त्री ओलीले भने।
ओलीले कालापानीमा सीमा विवादबारे यसअघिका सरकारले पत्राचार नगरेको र वर्तमान सरकारले भारतलाई पत्र पठाएर सीमा अतिक्रमण सुल्झाउन औपचारिक पहलकदमी थालेको बताए।
‘हामी पत्राचार पनि गरेका छौं र सोहिअनुसार अन्य पहलकदमी पनि गरेका छौं,’ उनले भने। ‘यो कुरा म संसदमा पनि सविस्तार बोल्नेछु।’ प्रधानमन्त्री ओलीले सीमा सुरक्षाका लागि थप ११४ सीमा चौकी स्थापना गरिएको र सयौं सीमास्तम्भ निर्माण तथा मर्मतसम्भार गरेको पनि जानकारी गराए।