बुटवल । नेकपा महासचिव विष्णु पौडेलले कालीगण्डकी डाईभर्सन नेताहरुबीचको लडाइँको विषय नभएको बताएका छन् ।
बुटवलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र आफुबीचको लडाइँको रुपमा नबुझ्न आग्रह गरे ।
‘यो विषयमा अलिकति कुरा प्रष्ट नभएको जस्तो देखिएको छ, उनले भने–गण्डकी प्रदेशलाई पानी सुक्छ कि भन्ने चिन्ता हो, तल्लो तटीयलाई बढी चिन्ता हो, त्यसमा हामीले विकल्प खोजिसकेका छौं, ड्याम बनाएपछि कसैलाई पनि समस्या हुँदैन, यसमा विवाद छैन, यसको काम अघि बढ्छ ।’
रुपन्देही २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका उनले सिद्धार्थ राजमार्गको बुटवल–तानसेन खण्डको सुरुङमार्ग निर्माणको प्रक्रिया पनि छिटै शुरु हुने बताए । ‘यसको बारेमा अध्ययन भइसकेको छ, अब अरु काम अघि बढ्छ, छिटै नै यसको टेण्डर भएर निर्माण प्रक्रिया अघि बढ्छ,–उनले भने–यसमा पनि तपाइँहरुले ढुक्क भए हुन्छ भन्ने सन्देश दिनुहोला ।’
बुटवल र आसपासका क्षेत्रका विकास निर्माणका विषयमा केन्द्रित भएका पौडेलले विकास निर्माणका कामहरुमा समन्वयको पक्षमा केही समस्या देखिएको बताउँदै सरकारी तहबाटै त्यसको निकास खोजेर कामलाई निरन्तरता दिने र समयमा सक्ने गरी अघि बढेको बताए ।
बुटवलको राजमार्ग चौराहादेखि चिडियाखोलासम्मको सडक विस्तारको काममा केही अवरोध भएको भन्दै उनले सडक विस्तार नरोकिने बताए ।
‘सडक विभागको नाममा रहेको क्षेत्रमा सडक विभागले सडक विस्तार गर्छ, यसमा कुनै शंका छैन, उनले भने–बुटवलको विकास चाहने हो कि अवरोध गर्ने हो, यो कुरा देशभरबाट हेरिएको छ, बुटवलबासीले पनि यो सडक विस्तारका पक्षमा आवाज उठाउनुपर्ने समय आएको छ, मिडियाले पनि सडकको क्षेत्रमा सडक विस्तारको काम अघि बढाउनका लागि साथ दिनुप¥यो ।’
उनले बुटवल–गैडाकोट सडक विस्तारको काममा रुख काट्ने विषय र बिजुलीका पोलका कारण केही समस्या देखिएको भन्दै त्यसलाई समाधान गर्न सरकारी स्तरबाटै काम अघि बढिसकेको बताए । ‘बुटवल–बेलहियाको सडक जस्तो शैलीमा बनेको छ, त्यसरी नै बुटवल–गैडाकोट सडक विस्तार हुन्छ, यसमा भएका रोकावटहरुलाई समाधान गरेर काम अघि बढाउने गरी सरकारको तयारी अघि बढेको छ ।’