बुटवल- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नविन्द्रराज जोशीको कांग्रेस सहित विभिन्न पार्टीका नेताहरुले दुख व्यक्त गरेका छन्। नेपाली कांग्रेसले आकस्मीक केन्द्रीय समितिको बैठक बसेर शोकप्रस्ताव पारित गरेको छ। मष्तिकष्घात भइ एक महिनादेखी उपचाररत जोशीको शुक्रवार साँझ निधन भएको थियो।
लुम्बिनी प्रदेशका कांग्रेस नेता तथा जिल्ला सभापतिहरुले जोशीलाई सरल र मिलनसार नेताको रुपमा सम्झेका छन्। उनीहरुले जोशीको निधनले मुलुकको आशालाग्दो नेता गुमेको बताएका छन्।
अब्दुल रज्जाक
कांग्रेस रुपन्देही जिल्ला सभापति
नविन्द्रराज जोशी एउटा कुशल संगठनकर्ता हुनुहुन्थ्यो। सादा जिवन उच्च विचार भएको नेता हो । हिजो उहाँको निधन भएको खबर सुनें। साह्रै दुख लाग्यो। उहाँको निधनले कांग्रेसले मात्र होइन देशलाई चाहिने कर्मठ नेता नै हामीले गुमाएका छौ। संविधान सभामा हुँदा हामीले सँगै काम पनि ग¥यौं। उद्योगमन्त्री हुँदा पनि उहाँले गरेका काम सम्झनालायक छन्। जनताप्रति उत्तरदायी नेताको रुपमा मैले सम्झन्छु।
विरबहादुर राना
कांग्रेस पाल्पा जिल्ला सभापति, प्रदेश सांसद
यती असल र सरल मान्छे जो कोही हुँदैन होला। ‘रानाजी राजनीति भनेको निकै कठीन छ । यसरी जानपर्छ’ भनेर मलाई सम्झाउनुहुन्थ्यो। मैले उहाँलाई एउटा प्रेरणाको स्रोत नै मान्छु । प्रतिनिधि सभा विघटन भएको केही दिनपछि पार्टीको एउटा कार्यक्रममा उहाँ पाल्पाको हुँगी आउनुभएको थियो ।
जिल्लाको दसवटा पालिकामा कार्यक्रम थियो । ‘म अर्को पालिकाको कार्यक्रममा जान पर्ने भयो हजुरसँग भेट्न पाइन भनेर फोन गरेको थिएँ।’ उहाँले ‘हुन्छ जानुस’ भन्नुभयो । जिल्लामै आएर पनि भेट्न नपाउँदा नराम्रो लाग्यो। त्यो नै हाम्रो अन्तिम संवाद बन्यो। म यो भन्ने उहाँमा कहिले पनि घमण्ड भएन । अस्पतालमा हुनुहुन्छ भन्ने सुनियो। हिजो मात्र नराम्रो खबर सुन्नुप¥यो।
डिल्लीबहादुर चौधरी
कांग्रेस नेता तथा प्रदेश सांसद
मैले उहाँलाई एउटा असल दाइ, अभिभावक र प्रेरणाको श्रोतको रुपमा सम्झन्छु। नेपाली राजनीतिक आन्दोलनमा उहाँको विशेष भूमिका छ। उहाँले युवाहरुलाई राजनीतिमा अघि बढ्न सँधै प्रेरणा दिनुहुन्थ्यो । मसँग भेट हुँदा ‘डिल्लीजी हामीले समाजलाई हेरेर राजनीति गर्नुपर्छ’ भन्नुहुन्थ्यो । विगतमा पश्चिम नेपालको कमैया कमलरी समस्याको बारेमा पनि विशेष चासो राख्नुहुन्थ्यो। कमैयामुक्ती पछि पनि उहाँले यस क्षेत्रका समस्याका बारेमा मसँग कुरा गर्नुहुन्थ्यो । ५–६ महिना अघि मसँग कुराकानी हुँदा पश्चिम नेपालका समस्याहरु के छन् भनेर कसरी समाधान गर्न सकिन्छ भनेर सोध्नुभएको थियो । त्यस विषयमा उहाँसँग केही बेर बसेरै कुराकानी भयो । एक पटक दाङ लगायत पश्चिम तिर आउने बताउनुभएको थियो । आखिर त्यस्तो घट्ना भयो ।
सुरेन्द्र हमाल
कांग्रेस नेता तथा प्रदेश सांसद
नविन्द्रराज जोशीलाई मैले विद्यार्थी राजनीति गर्दादेखी नै चिनेको हो । २०३८– ३९ साल तिर मैले पहिलो पटक उहाँलाई भेटेको हो। निकै सरल र मिलनसार हुनुहुन्थ्यो । काठमाण्डौमा म उहाँको घर पनि गएको छु। हाम्रो भेट भइरहन्थ्यो । उहाँले कहिले पनि अरुलाई चित्त दुख्ने कुरा गर्नुहुन्न थियो। हामीलाई मार्गदर्शन गरिरहनुहुन्थ्यो। विद्यार्थी राजनीति पछि उहाँ २०४९ सालमा काठमाण्डौको उपमेयर हुनुभयो । म पनि नेपालगञ्ज नगरपालिकाको उपमेयर भएको थिएँ। त्यस हिसाबले पनि मैले उहाँलाई विशेष रुपमा सम्झन्छु।