पाेखरा- गण्डकी प्रदेश सभाको विशेष अधिवेसन आजबाट सुरु हुँदै छ। अधिवेसन अन्तर्गत दिउसो २ बजे सुरु हुने बैठकमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्धको अविश्वासको प्रस्तावमा छलफल हुने छ।
बैठकमा नयाँ मुख्यमन्त्रीमा प्रस्तावित कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले सुरुमा बोल्ने तालिका रहेको छ। आज र भोलि अविश्वास प्रस्तावमा छलफल हुने र १५ गते मतदान हुने आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिमा सहमति भइसकेको छ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले गण्डकी सरकारका मुख्यमन्त्री विरुद्ध बैशाख २ गते प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए। उक्त प्रस्ताव आउने निश्चित भएपछि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बैशाख १ गते राति १२ बजेदेखि लागु हुने गरी प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य गराएका थिए।
अधिवेशन अन्त्य भएपछि विपक्षी दलहरूले प्रदेश प्रमुख अमिक शेरचनलाई प्रदेश सभाको विशेष अधिवेशन बोलाउन निवेदन दिएका थिए। जस अनुसार प्रदेश प्रमुख शेरचनले आजको लागि संसदको विशेष अधिवेसन बोलाएका हुन्।