सुर्खेत- कर्णाली प्रदेश सभामा एमालेबाट निर्वाचित चारजना सांसद पदमुक्त भएका छन्। प्रदेश सभाको सोमबारको बैठकमा सभामुख राजबहादुर शाहीले चार जनाको पद रिक्त भएको जानकारी गराएका हुन्।
बैशाख ३ गते मुख्यमन्त्री महेन्द्रवहादुर शाहीलाई विश्वासको मत दिएका सल्यान प्रदेशसभा (ख)बाट निर्वाचित प्रकाश ज्वाला, कालिकोट प्रदेशसभा (क)बाट निर्वाचित कुर्मराज शाही, डोल्पा प्रदेशसभा (क)बाट निर्वाचित नन्दसिंह बुढा र दैलेख क्षेत्र नं. १ (ख)बाट निर्वाचित अमरबहादुर थापा पदमुक्त भएका हुन्। उनीहरुले पार्टीको ह्विप विरुद्ध विश्वासको मत दिएका थिए।
राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३५ (१) र कर्णाली प्रदेशसभा नियवामली २०७४ नियम १९० बमोजिम एमाले संसदीय दलले चारैजना सांसदले दल त्याग गरेको पत्र प्रदेशसभा सचिवालयलाई जानकारी गराएपछि कर्णाली प्रदेशसभा नियमावली २०७४ को नियम १९१ बमोजिम सभामुखले सांसदहरु पदमुक्त भएको घोषणा गरेका हुन् ।
थापा हाल कर्णालीको भौतिक पूर्वाधार विकासमन्त्री, शाही भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री र बुढा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री छन् । ज्वाला कुनैपनि जिम्मेवारीमा छैनन् ।