पोखरा : गण्डकी प्रदेशसभाका तीन जना सांसदलाई कोभिड-१९ संक्रमण पुष्टि भएको छ । प्रदेशसभाका एक सांसदका अनुसार स्वास्थ्य निर्देशनालयले तीन जना सांसदलाई संक्रमण देखिएको बताएको हो ।
कोभिड पोजिटिभ देखिनेहरूमा एमालेका राजिव पहारी, कांग्रेसकी मनकुमारी गुरुङ र एमालेकी प्रभा कोइराला रहेका छन् । यस्तै प्रदेशसभाका दुई जना कर्मचारीलाई पनि कोभिड १९ संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक विनोदविन्दु शर्माले तीन जना सांसदमा कोभिड १९ देखिएको पुष्टि गरे ।
बुधबार सांसदहरुको कोभिड–१९ परीक्षणको नतिजा आएपछि दिउँसो १ बजे बस्ने गरी प्रदेशसभा बैठक डाकिएको छ । मंगलबार एमाले सांसदहरुले बैठकको सुरुमै उठेर आपत्ति जनाएका थिए । सांसद राजीव पहारीले कोरोना परीक्षणबिना बैठक राख्न नहुने बताएपछि सबै एमाले सांसदले उठेर आपत्ति जनाएका थिए ।
त्यसलगत्तै बसेको कार्यव्यवस्था समितिको बैठकले सबै सांसदको कोभिड १९ परीक्षण गर्ने निर्णय गरेको थियो । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि मतदान केही दिन पर धकेल्न एमाले सांसदले पीसीआर परीक्षणको माग गरेका थिए ।