हेटाैँडा- बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्रिपरिषद् विस्तार गरेका छन्। तीन मन्त्री र एक राज्यमन्त्री समेटेर उनले मन्त्रिपरिषद् विस्तार गरेका हुन्। केशवराज पाण्डेलाई आन्तरिक मामिला तथा कानून मन्त्री, सुरेश नेपाललाई उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री, सरस्वती बस्नेतलाई सामाजिक विकास मन्त्री र डा. रामकुमार अधिकारीलाई सामाजिक विकास राज्यमन्त्रीका लागि सिफारिश गरिएको छ।
मुख्यमन्त्री पौडेलले पछिल्लो राजनीतिक घटनाक्रमका कारण पार्टी भित्र तीब्र विरोधकाबीच मन्त्रिपरिषद् विस्तार गरेका हुन्। मन्त्रिपरिषद्मा प्रधानमन्त्री ओली पक्षको नेकपा एमालेका सांसदहरु मात्र रहेका छन्।
गत पुस १० गते मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएकै दिन आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेल, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री अरुणकुमार नेपाल र समाजिक विकास मन्त्री युवराज दुलालले राजीनामा दिएसँगै तीन वटै मन्त्रालयको कार्यभार मुख्यमन्त्री पौडेलले नै सम्हाल्दै आएका थिए। नियुक्त भएका मन्त्री तथा राज्यमन्त्रीहरूले आजै पद तथा गोपनीयताको सपथ ग्रहण गर्ने कार्यक्रम छन्।