बुटवल- लुम्बिनी प्रदेश सरकारमा मन्त्री बन्न गएका जनता समाजवादी पार्टी (जसपा) का चार प्रदेशसभा सदस्य पदमुक्त भएका छन् । रुपन्देही क्षेत्र नम्बर ३ (१) बाट निर्वाचित सन्तोषकुमार पाण्डे, बाँके क्षेत्र नम्बर २(१) बाट निर्वाचित विजयकुमार यादव, समानुपातिक सांसद सुमन शर्मा रायमाझी र कल्पना पाण्डे पदमुक्त भएका हुन्। उनीहरु पदमुक्त भएको सूचना प्रदेश सभा सचिवालयले प्रकाशित गरेको हो ।
बैशाख ६ गते नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाका सांसदहरुले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । प्रस्तावमा कल्पना पाण्डे बाहेक बाँकी तीन जनाले समेत हस्ताक्षर गरेका थिए । अविश्वास प्रस्ताव दर्ता भएको केही घण्टामै उनीहरु मन्त्री नियुक्त भएका थिए ।
जनता समाजवादी पार्टीको केन्द्रीय कार्यसमितिको बैठकको निर्णय र जसपा लुम्बिनी प्रदेश संसदीय दलको पत्र सचिवालयमा प्राप्त भएको प्रदेश सभा सचिव दुर्लभकुमार पुनद्वारा जारी सुचनामा उल्लेख छ।
