बुटवल- लुम्बिनी प्रदेशको प्रदेश सभा सदस्यबाट पदमुक्त भएका चार जनाले सर्वोच्च अदालतमा रिट दायर गर्ने भएका छन्। मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भए लगत्तै प्रदेश सरकारमा मन्त्री बन्न गएका जनता समाजवादी पार्टीका सांसद सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे कानूनी उपचार खोज्न लागेका हुन्।
नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदले बैशाख ६ गते मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए। प्रस्तावमा कल्पना पाण्डे बाहेक बाँकी तीन जनाको पनि हस्ताक्षर रहेको छ। विहिवार प्रदेश सभा सचिवालयले जसपाको संसदीय दलको निर्णय अनुसार चारै जना सांसद पदमुक्त भएको सुचना निकालेको थियो ।
सचिवालयले सूचना निकालेपछि सर्वोच्च अदालतमा रिट दायर गर्न आफूहरु काठमाण्डौ आएको सन्तोषकुमार पाण्डेले जानकारी दिए। ‘प्रदेश सभा सभामुख र सचिवलाई हामीलाई निकाल्ने अधिकार छैन। अधिकार भन्दा बाहिर गएर हामीलाई कारवाही गरिएको छ।’ उनले भने ‘सभामुख र सचिवविरुद्ध मुद्दा दर्ता गर्न हामी चारै जना काठमाण्डौ आएका हाँै।’ पाण्डेले अदालतको फैसला आफ्नै पक्षमा आउने दाबी गरे।
अर्का पदमुक्त सांसद विजयबहादुर यादवले एक भएर बनेको जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक अहिले सम्म नबसेको बताए। बैठक नै नबसिकन घर–घर गएर संकलन गरिएको किर्ते हस्ताक्षरको अर्थ नहुने उनले बताए। चार सांसद पदमुक्त भएको सूचना आए सँगै जनता समाजवादी पार्टीका अध्यक्ष महन्त ठाकुरले प्रदेश सभाका सभामुखलाई पत्र पठाएर चार जनालाई केन्द्रीय स्तरबाट कुनै कारवाही नभएको उल्लेख गरेका थिए।