बुटवल- लुम्बिनी प्रदेश प्रमुखको कार्यालय परिसरमा धर्नामा बसेका प्रदेश सभा सदस्यहरु र प्रहरीबीच झडप भएको छ। मुख्यमन्त्री शंकर पोखरेलको सपथ रोक्न माग गर्दै कांग्रेस, माओवादी केन्द्र सहितका विपक्षी सांसदहरु धर्नामा बसेका थिए। मुख्यमन्त्री शंकर पोखरेललाई शपथ खुवाउन निस्केका प्रदेश प्रमुख धर्मनाथ यादवलाई बाटो छेकेका प्रदेश सभा सदस्यलाई प्रहरीले धरपकड गरेपछि झडप भएको थियो ।
झडपमा केही प्रदेश सभा सदस्य घाइते भएका छन् । ‘प्रदेश प्रमुख बाहिर जानेबेलामा महिला प्रहरी पठाउनुस भन्दा भन्दै डिआइजी आएर पहिले म माथि आक्रमण गर्न थाल्नु भयो त्यसपछि सबै प्रहरी आएर टिपेर फाल्नु भयो,’ कांग्रेस सचेतक निर्मला क्षेत्रीले भनिन्, ‘ यस्तो अमर्यादित किसिमले नाङ्गो नाच चाचिरहेको छ आज प्रदेश प्रमुख, मुख्यमन्त्री प्रहरी प्रशासन।’ विरोधका विच मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश प्रमुखलाई आफ्नै कार्यालयमा लगेर सपथग्रहण गरेका छन्।