काठमाडौँ- संवैधानिक परिषदको बैठक बालुवाटारमा अहिले बसिरहेको छ । संवैधानिक परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठकमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा सहभागी भएका छन् । प्रतिनिधि सभाका सभामुख अग्नी सापकोटा र विपक्षी दतका कांग्रेसका नेता शेरवहादुर देउवा भने सहभागी छैनन्।
सरकारले गत मंगलबार संवैधानिक परिषद्सम्बन्धीसहित सातवटा अध्यादेश जारी गरेको थियो। अध्यादेशमा परिषदका तीन जना बैठक बसेर निर्णय गर्न सकिने गरि ऐन संसोधन गरिएको छ। कांग्रेस सभापति देउवाले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै सरकारले अध्यादेश ल्याएर संसदीय मूल्य मान्यता प्रतिकुल र लोकतान्त्रिक अभ्यासमै प्रहार गरेको भन्दै बैठकमा आफूले पनि भाग नलिने र अरु सदस्यलाई पनि भाग नलिन आग्रह गरेका थिए । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि संवैधानिक परिषद्को बैठकमा सहभागी नहुन सदस्यहरुलाई आग्रह गरेका थिए ।
बैठकले संवैधानिक आयोगहरुमा पदाधिकारी नियुक्ति सिफारिस गर्ने सम्भावना छ । हाल लोकसेवामा पदाधिकारीविहीन छ। यसैगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा २ सदस्य रिक्त छन् । महिला आयोगसहित अरु केही संवैधानिक आयोगमा पनि केही पद खाली छन् ।
प्रधानमन्त्री ओलीले सोमबार प्रतिनिधि सभामा विश्वासको मत लिन लागेका छन्। विश्वासको मत पाउने सम्भावना नभएकाले उनले पद छोड्नु अघि विभिन्न निकायमा नियुक्ती गर्न लागेका हुन्।