बुटवल-लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध फेरि अविश्वासको प्रस्ताव दर्ता भएको छ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ४० जना सांसदको हस्ताक्षरसहित प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता भएको प्रदेश सभा सचिव दुर्लभ कुमार पुन मगरले जानकारी दिए।
८७ सांसद भएको लुम्बिनी प्रदेश सभामा अहिले घटेर ७९ सांसद रहेका छन्। नेकपा एमालेको लुम्बिनी प्रदेश सभामा तत्काल ३८ जना मात्र कायम रहेकाले यो संख्याले एकल बहुमतको प्रदेश सरकार बनाउन नमिल्ने अविश्वासको प्रस्तावमा उल्लेख छ । एमाले बाहेकको गठबन्धनमा कांग्रेसको १९, माओवादी केन्द्रको १९, जसपाको २ र राजमोको १ गरी ४१ जनाको बहुमत रहेको दाबी गरिएको छ ।
यस अघि बैशाख ६ गते विपक्षी गठबन्धनले प्रदेश सभामा सचिवालयमा मुख्यमन्त्री पोखरेल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरि प्रदेश प्रमुख धर्मनाथ यादव समक्ष विशेष अधिवेसनको लागि समावेदन गरेका थिए। प्रदेश प्रमुखबाट बैशाख १९ गते विशेष अधिवेसन बोलाइएको थियो । विशेष अधिवेसन सुरु हुनु अघि नै मुख्यमन्त्री शंकर पोखरेलले राजिनामा दिएका थिए ।
राजिनामा दिएसँगै उनले विशेष अधिवेसन अन्त गराएका थिए । प्रदेश प्रमुख समक्ष एमालेको एक बहुमत देखाएर राजिनामा दिएकै दिन मुख्यमन्त्रीमा नियुक्त भएका थिए। मुख्यमन्त्री नियुक्त भएसँगै दाङबाट उपचुनाव जितेकी विमलाकुमारी खत्री माओवादीमा रहेको घोषणा गरेकी थिइन्।
सुर्य चिन्ह लिएर चुनाव लडेका २ सांसदले पनि विपक्षी गठबन्धनमा आएको बताएपछि नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केशीले पनि बहुमत सांसदको हस्ताक्षर देखाएर मुख्यमन्त्रीमा आफ्नो पनि दाबी पेश गरेका थिए । विपक्षी सांसदहरु शंकर पोखरेलको सपथ रोक्न प्रदेश प्रमुखको कार्यालयमा धर्ना दिएका थिए। धर्नालाई छिचोल्दै प्रदेश प्रमुखले मुख्यमन्त्री कार्यालय पुगेर शंकर पोखरेललाई सपथग्रहण गराएका थिए।