बुटवल - सर्वोच्च अदालतले लुम्बिनी प्रदेशका चार जना प्रदेशसभा सदस्यलाई पदमुक्त नगर्न अल्पकालिन अन्तरिम आदेश दिएको छ । न्यायाधीश नहकुल सुवेदीको इजलासले जनता समाजवादी पार्टीबाट निर्वाचित चार सांसदलाई पदमुक्त नगर्न अल्पकालिन अन्तरिम आदेश दिएको हो ।
आदेशसँगै जसपाका सन्तोष पाण्डेय, सुमन शर्मा रायमाझी, विजयबहादुर यादव र कल्पना पाण्डेको प्रदेश सभा सदस्य पद कायम भएको छ । चारैजना अहिले लुम्बिनी सरकारका मन्त्री छन् ।
बैशाख ६ गते मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएलगत्तै चार जना मन्त्री भएका थिए । मन्त्री बन्न गएपछि जसपाको उपेन्द्र यादव र बाबुराम भटराई पक्षले कारवाही गरेपछि प्रदेश सभा सचिवालयले पदमुक्त भएको सुचना निकालेको थियो । सो निर्णयविरुद्ध आइतबार रिट दर्ता गरेका थिए । उनीहरूलाई पदमुक्त गर्ने प्रदेशसभा सचिवालयको निर्णय संविधान र कानुनसम्मत नभएको इजलासले भनेको छ ।