काठमाडौँ- बागमती प्रदेशमा बिहीबार हुन लागेको राष्ट्रियसभा सदस्यको रिक्त पदको उपनिर्वाचनका लागि मौन अवधि सुरु भइसकेपछि पनि आचार संहिताविपरित कार्य भएको प्रति निर्वाचन आयोगले ध्यानाकर्षण भएको जनाएको छ । बुधबारमात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले तर्फका उम्मेदवार रामबहादुर थापा बादलको पक्षमा मत माग्दै विज्ञप्ती जारी गरेका थिए । निर्वाचन आयोगले बुधबार विज्ञप्ती जारी गरि आचारसंहिता उल्लंघनप्रति ध्यानाकर्षण भएको जनाएको हो । ‘आयोगले अनुरोध गर्दागर्दै पनि केही व्यक्तिहरुले आचार संहिता विपरीत वक्तब्य दिने, प्रेस विज्ञप्ति निकाल्ने, प्रकाशन तथा प्रसारण गर्ने र केही सञ्चार माध्यमहरुले उम्मेदवारको जीत हारको पूर्वानुमानका सामग्रीहरु प्रसार गर्ने तथा विभिन्न व्यक्तिहरुको अन्तरवार्ता लिने जस्ता गतिविधिहरु गरेको देखिएकोले यस तर्फ आयोगको गम्भीर रुपमा ध्यानाकर्षण भएको छ’, आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ,
आयोगले आचार संहिता पालना नगर्नेलाई कारबाहीको चेतावनी समेत दिएको छ । एकातर्फ निर्वाचन आचार संहिता कडाइका साथ लागू गर्न नसक्ने भनी आलोचना पनि गर्ने र अर्कोतर्फ आँफै आचार संहिता विपरीतका गतिविधिमा संलग्न हुनु कुनै पनि दृष्टिकोणबाट स्वीकार्य हुन नसक्ने आयोगका भनाइ छ ।
‘निर्वाचन आचार संहिता विपरितका कार्य गर्ने व्यक्ति वा संस्थालाई आयोगले कानून बमोजिम कारवाही गर्न सक्ने कुरा प्रष्ट गर्दै यसरी आचार संहिता विपरीत कार्य गर्नेको अभिलेख राख्ने व्यहोरा समेत जानकारी गराइन्छ’, विज्ञप्तिमा भनिएको छ । विहिवार हुने निर्वाचनको लागि मंगलबार राति १२ बजेदेखि मौन अधवि सुरु भएको छ । मौन अवधिमा प्रधानमन्त्री ओलीले नै विज्ञप्ति निकालेर त्यसको उल्लंघन गरेका थिए ।