काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६ (५) अनुसार वैकल्पिक सरकार बनेमा आफूले रचनात्मक सहयोग गर्ने बताएका छन्।
वालुवाटारमा भएको पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले सके बैकल्पिक सरकार बनाउन नभए आफ्नो नेतृत्वमा राष्ट्रिय सरकार बनाउन आग्रह गरे । ‘म फेरि पनि आग्रह गर्छु तपाईंहरु वैकल्पिक सरकार बनाउनुस्। बिना कुनै षड्यन्त्र म दलका नेताहरुलाई आग्रह गर्छु बनाउनुस् वैकल्पिक सरकार। म त्यसलाई स्वागत गर्नेछु। त्यसमा मेरो रचनात्मक सहयोग हुनेछ। उनले भने ‘राष्ट्रिय सरकार बनाउने हो भने आउनुहोस् मेरो नेतृत्वमा, सवैलाई समेटेर साझा भूमिका खेल्नेछु ।’
प्रधानमन्त्री ओलीले आफूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई राष्ट्रिय सरकार बनाउन प्रस्ताव गरेको स्पष्ट पारेका छन्। ‘आज बिहान कांग्रेस सभापति शेरबहादुर देउवाजीलाई फोन गरेर मैले तपाईंहरू सरकार बनाउनुस् भनेको थिएँ। नभए मेरै नेतृत्वमा राष्ट्रिय सरकार बनाऔं भनेको थिएँ,’ उनले भने।