काठमाडौँ- नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटन विरुद्ध राजनीतिक र कानुनी लडाइँ लड्ने निर्णय गरेको छ । कांग्रेस सभापति शेरवहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पधाधिकारी र पूर्वपदाधिकारीको बैठकले राजनीतिकसँगै कानूनी लडाइँ लड्ने निर्णय गरेको हो ।
संविधानको धारा ७६ को ५ अनुसार सरकार बन्ने अवस्था हुँदाहुँदै सरकारको सिफारिसमा मध्यरातमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेकोमा कांग्रेसले आपत्तिसमेत जनाएको छ। बैठकले प्रतिनिधिसभा विघटन गरेर राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीले लोकतन्त्रविरुद्ध षडयन्त्र गरेको निष्कर्ष निकालेको कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले बताए । उनले कांग्रेसले गरेको निर्णयबारे अरु दलसँग छलफल गरेर अघि बढ्ने बताए ।
अहिले संसद भवन नयाँ बानेश्वरमा नेकपा एमालेका नेता माधव नेपालसहित विपक्षी गठबन्धनका ५ दलका शीर्ष नेता छलफलमा जुटेका छन्।