काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठकले पार्टीका नेताहरु माधव कुमार नेपाल र झलनाथ खनाललगायत अन्य ११ जना नेताहरुलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने एमालेका विघटित प्रतिनिधिसभाका ११ सदस्यमाथि कारवाही गर्ने निर्णय प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार भएको बैठकले गरेको हो ।
यसअघि शनिबारको बैठकले झलनाथ खनाल,माधव नेपाल र भीम रावलसहित ११ जनालाई स्पष्टीकरण सोधेको थियो । नेताहरुले उक्त स्पष्टीकरण नबुझाएकाले कारवाहीको निर्णय गरिएको बताइएको छ ।
नेपाल र खनालबाहेक बैठकले भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन र निरा देवी जैरूलाई साधारण सदस्य नरहनेगरी निष्कासन गरेको हो । यस्तै, बैठकले अरू १२ जनालाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।