बुटवल । नेकपा एमालेका नेता घनश्याम भुसालले संविधान रक्षाका लागि ससदीय मर्यादा उल्लंघन गर्दै शेरबहादुर देउवाको पक्षमा हस्ताक्षर गरेकाे स्पष्टिकरण दिएका छन् । उनले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्दा आफूले संसदीय मर्यादा उल्लंघन गरेको स्वीकार गरेका छन् । संविधान र राजनीतिका लागि आफूले उल्लंघनको विकल्प रोजेको उनको स्पष्टीकरण छ ।
सामाजिक सञ्जालमा स्पष्टिकरण दिदैं उनले भनेका छन्,'एउटा सांसदको हिसाबले हेर्दा मबाट संसदीय मर्यादा उल्लंघन भएको स्वीकार गर्छु । तर हाम्रो संविधान र राजनीतिका लागि मैले उल्लंनको विकल्प रोज्नुपर्ने ठाउँमा पुगें ।’
गत वर्ष ल्याइएको दल विभाजनसम्बन्धी अध्यादेश, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को एकता भंग, संसद विघटन र मध्यावधि चुनावको घोषणा संविधान असफल बनाउने षडयन्त्रअन्तर्गत भइरहेको उनको निष्कर्ष छ । भुसालले नयाँ खिलराजको उदय गराउने र ‘नयाँ’ संविधानको कोर्सतिर मुलुकलाई लैजाने प्रयास भइरहेको समेत सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।
यस्तो छ उनको स्पष्टिकरण:
म दैनन्दिन सूचनाको खोजीमा खासै चासो राख्दिनँ । दलाल पुँजीवादले हाम्रो संविधानमाथि आक्रमण गरिरहने छ भन्ने मेरो अर्थराजनीतिक र भू-राजनीतिक बुझाईबारे बोल्दै–लेख्दै आएको छु । एकजना कमरेडले करिब दुई वर्षदेखि हाम्रो भूराजनीति र यो लोकतान्त्रिक गणतन्त्रमाथि आइलाग्ने खतराबारे भन्दै आउनु भएको छ । त्यस्तो विश्लेषण केहि भारतीय संस्थापन नजिकका मिडियामा पनि देखिएकै हो । तर पोहोर सालको बैसाख ८ मा दल विभाजनसम्बन्धी अध्यादेश आएको भोली वा पर्सीपल्ट सूचनाका सौखिन एकजना राजनीतिकर्मीले भनेको कुरा अझ स्पष्ट थियो जुन कुरा मैले धेरै साथीहरुलार्ई बताएको छु ।
उनले भनेका थिए- नेकपाको विवाद समाधान हुँदैन । अदालतद्वारा नेकपा एमाले र माओवादी ब्युँताइने छ र तपाईँहरुलाई विभाजित गरिनेछ । संसद विघटन गरेर निर्वाचनको घोषणा गरिनेछ तर निर्वाचन हुनेछैन वा भयो भने पनि जिताइने र हराइनेहरु पहिले नै निश्चित हुनेछन्, त्यसले वैधता गुमाउने छ । संविधानले काम गर्दैन । त्यसपछि कमरेड ओलीको उपादेयता सकिन्छ । नयाँ खिलराजहरुको अभ्यास हुनेछ । त्यसपछि फेरि ‘नयाँ’ संविधानको कोर्समा मुलुकलार्ई धकेलिने छ ।
घटनाहरु जस्ताको त्यस्तै अगाडि बढ्दै छन् । अहिले नेकपा एमालेका केहि सांसदहले शेरबहादुर देउवालार्ई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरे भनेर विरोध वा टिप्पणी भएको छ । एउटा सांसदको हिसाबले हेर्दा मबाट संसदीय मर्यादा उल्लङ्घन भएको स्वीकार गर्छु । तर हाम्रो संविधान र राजनीतिका लागि मैले उल्लङ्नको विकल्प रोज्नु पर्ने ठाउँमा पुगेँ । मेरो निर्णय लोकतान्त्रिक स्थीरताका साथ बाँच्न चाहाने नेपालको आकाङ्क्षाको पक्षमा हो, जसका लागि लाखौँ नेपालीको रगतपसिना बगेको छ ।
गणतन्त्र दिवसका उपलक्ष्यमा सबैलाई शुभकामना ।