काठमाडौँ- विपक्षी गठबन्धनका नेताहरुको बैठक अहिले बसिरहेको छ । काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बैठक जारी छ । छलफलमा काँग्रेसका तर्फबाट सभापति देउवा, वरिष्ठ नेता पौडेल, कृष्णप्रसाद सिटौला, महामन्त्री पूर्णबहादुर खड्का, पुष्पा भुसाल, राधेश्याम अधिकारीलगायत छन्।
माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, देव गुरुङ, कृष्णबहादुर महरा तथा एमालेको खनाल नेपाल पक्षबाट नेता माधव नेपाल र भीम रावल छलफलमा सहभागी छन् । जसपाबाट अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई, नेता राजेन्द्र श्रेष्ठ र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल पनि छलफलमा सामेल छन् ।
संसद विघटनविरुद्धको राजनीतिक र न्यायिक लडाइका सन्दर्भमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भइरहेको बताइएको छ ।काँग्रेस सभापति देउवालाई विपक्षी गठबन्धनका १४९ सांसदले हस्ताक्षर गरेका थिए।
तर राष्ट्रपति विद्यादेवी भण्डारीले देउवाको दाबी खारेज गर्दै सरकारको सिफारिसमा गत शुक्रबार प्रतिनिधि सभा विघटन गरेपछि ५ दलका १४६ सांसदले सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त रिट बारे शुक्रबारदेखी छलफल सुरु भएको छ ।