काठमाडौँ - विपक्षी ५ दलले सरकारले अध्यादेशबाट बजेट ल्याएर फेरि संविधान उल्लंघन गर्ने काम गरेको आरोप लगाएका छन् । कांग्रेस सभापति शेरवहादुर देउवाको निवास बुढानिलकण्ठमा आज बसेको कांग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल पक्ष र जसपाको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाको संयुक्त बैठकले संसदमा पेश हुनुपर्ने बजेट अध्यादेशबाट ल्याएर फेरी संविधानको उल्लंघन भएको ठहर गरेको हो ।
'प्रधानमन्त्रीद्वारा भइरहेको संविधान उल्लंघन संघिय संसदमा पेश हुनुपर्ने बजेट अध्यादेशबाट ल्याउने कार्यमा पुन प्रकट भएको छ ।' बैठक पछि जारी संयुक्त विज्ञप्तीमा भनिएको छ 'देश कोरोना महामारीबाट आक्रान्त भइरहेको कठिन स्थितीको दुरुपयोग गरि प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा संविधानको अवहेलना र उल्लंघन गर्ने काम एक पछि अर्को गरि भइरहेका छन् ।'
विज्ञप्तिमा वैकल्पिक सरकार दावी गरिएको अवस्था रहेकोले अहिलेको सरकारले दीर्घकालीन कामकारवाही गर्न नमिल्ने भनिएको छ। सरकारका संविधान विपरीतका र अलोकतान्त्रिक कामकारवाहीमा सहयोगी नहुन राज्यका सबै अंग र निकायलाई उनीहरूले आग्रह पनि गरेका छन्।
उनीहरूले सर्वोच्च अदालतबाट संवैधानिक व्यवस्थाको संरक्षण भई न्याय प्राप्त हुने पनि विश्वास लिएका छन्।