बुटवल । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल समशेर राणाले राष्ट्रिय सभाको उपनिर्वाचनमा मतदान नगर्ने भएका छन् । आज हुने लुम्बिनी प्रदेशको राष्ट्रिय सभाको निर्वाचन आफ्नो प्रथामिकतामा नपरेको भन्दै उनले मतदान नगर्ने निर्णय गरेको बताए । स्थानीय सरकारको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मेयरमा निर्वाचित राणाले भने-'मेरो अहिलेको पहिलो कर्तव्य कोरोनासंग जुध्ने रहेकोले काग्रेस,एमाले र माओवादीको यो अबस्थामा भईरहेको जुधाईलाई मैले मतदान गर्न नसक्ने निर्णय गरेको छु ।'
सामाजिक सञ्जालमा स्पष्टिकरण दिंदै उनले लेखे-'आजहुने लुम्बिनी प्रदेशको राष्ट्रियसभा सदस्यको उपचुनाव मेरो प्राथमिकतामा परेन । मेरो अहिलेको पहिलो कर्तव्य कोरोनासंग जुध्ने रहेकोले काग्रेस,एमाले र माओवादीको यो अबस्थामा भईरहेको जुधाईलाई मैले मतदान गर्न नसक्ने निर्णय गरेको छु । धन्यवाद!!'
लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्य चयनका लागी सोमवार उप–निर्वाचन हुदै छ । घोराही स्थित कर्मचारी मिलन केन्द्रमा विहान ९ बजे बाट मतदान गर्ने समय तोकिएको छ । दिउँसो ३ बजे सम्म मतदान हुने छ । सोमबार नै नतिजा घोषणा हुने छ ।
नेकपा एमालेका चन्द्रबहादुर खड्का र नेपाली कांग्रेसका दृगनारायण पाण्डे चुनावी मैदानमा छन् । पाण्डेलाई नेकपा माओवादी केन्द्र, जसपा उपेन्द्र पक्ष, राष्ट्रिय जनमोर्चाको समर्थन छ । प्रदेश सभा सदस्यका ८३ र स्थानीय तहका प्रमुख, उप–प्रमुख, अध्यक्ष, उपाध्यक्ष गरी २१७ जना गरी जम्मा ३ सय जनाले मतदान गर्न पाउने छन् ।
निर्वाचनको अघिल्लो दिन निर्वाचन आयोगले मतदाता नामावलीमा चार जनाको नाम थपेको थियो । जनता समाजवादी पार्टीका चार जना प्रदेश सभा सदस्यले निर्वाचनमा मतदान गर्न पाउने छन् ।