दाङ । लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्य चयनका लागी मतदान सुरु भएकाे छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पाेख्रेलले पहिलो मतदान गरेका छन् ।
घोराही स्थित कर्मचारी मिलन केन्द्रमा विहान ९ बजे बाट मतदान सुरु भएको हाे । दिउँसो ३ बजे सम्म मतदानकाे समय ताेकिएकाे छ । सोमवारनै नतीजा घोषणा गरिने प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।
नेकपा एमालेका चन्द्रबहादुर खड्का र नेपाली कांग्रेसका दृगनारायण पाण्डे चुनावी मैदानमा छन् । पाण्डेलाई नेकपा माओवादी केन्द्र, जसपा उपेन्द्र पक्ष, राष्ट्रिय जनमोर्चाको समर्थन छ ।
प्रदेश सभा सदस्यका ८३ र स्थानीय तहका प्रमुख, उप–प्रमुख, अध्यक्ष, उपाध्यक्ष गरी २१७ जना गरी जम्मा ३ सय जनाले मतदान गर्न पाउने छन् । निर्वाचनको अघिल्लो दिन निर्वाचन आयोगले मतदाता नामावलीमा चार जनाको नाम थपेको थियो । जनता समाजवादी पार्टीका चार जना प्रदेश सभा सदस्यले निर्वाचनमा मतदान गर्दैछन् ।
राष्ट्रिय सभा उपनिर्वाचनमा प्रदेश सभा तर्फ ७९ जना मतदाता कायम भएकोमा निर्वाचन आयोगको जेठ १६ गते बसेको बैठकले चार जना प्रदेश सभा सदस्यको नाम पुरक मतदाता नामावलीमा समावेस गरेको हो ।
सन्तोषकुमार पाण्डे, बिजयबहादुर यादव, सुमन शर्मा रायमाझी, कल्पना पाण्डेले मतदान गर्न पाउने भएका हुन । यता निर्वाचन आयोगले गरेको निर्णयको विरोध गठवन्धले गरेको छ ।
राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख/उपप्रमुखको मतभार १८ हुन्छ । लुम्बिनीमा एमाले र गठबन्धनको उम्मेदवारको चिमा कडा टक्कर हुने विश्लेषण गरिएको छ ।
जनता समाजजादी र स्वतन्त्रबाट स्थानीय तहको निर्वाचन जीतेकाहरुनै निर्वाचन जिताउने आधार भएको ठान्दै दुवै पक्ष सोही मत तान्न कस्सिएको पाइएको छ ।
लुम्बिनी प्रदेशमा रहेका १०९ स्थानीय तहमा नेकपा एमालेका ९१, नेपाली कांग्रेस ६४, नेकपा माओवादी(केन्द्र) ३९, जसपा १३, राष्ट्रिय जनमोर्चा ५, राप्रपा २ र स्वतन्त्र ३ जना रहेको दावी गरिएको छ । लुम्बिनी प्रदेश सभा सदस्यको कुल संख्या ८७ हो ।
तर, अहिले कायम रहेको संख्या ८३ छ । एमाले गठबन्धनमा ४२ जना सांसद छन् । विपक्षी गठबन्धनका ४१ छन् । नेकपा एमालेका ३८, नेपाली कांग्रेसका १९, माओवादी केन्द्र १९ (विमला वली सहित), जसपा महन्थ पक्ष ४, जसपा उपेन्द्र पक्ष २ र राष्ट्रिय जनमोर्चाका १ सांसद लुम्बिनी प्रदेश सभामा छन् ।