बुटवल । लुम्बिनी प्रदेशमा भएको राष्ट्रियसभा उपनिर्वाचनमा नेपाली कांग्रेसका दृगनारायण पाण्डे निर्वाचित भएका छन् । सोमबार दाङमा भएको निर्वाचनमा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गर्दै पाण्डे राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका हुन् ।
पाण्डेले ४१४० मतभार प्राप्त गरेका थिए भने खड्काले ३५९४ मतभार पाए ।
राष्ट्रियसभा सदस्यमा निर्वाचित कांग्रेसका पाण्डेलाई नेकपा माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाको समर्थन थियो । मुख्यमन्त्रीमा शंकर पोखरेलको पुनर्नियुक्तिपछि प्रदेश सभा सदस्यबाट राजीनामा दिई नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । उता पराजित भएका खड्काले सर्वोच्चको फैसलापछि माओवादी केन्द्र त्यागेर एमालेमा प्रवेश गरेका थिए ।
लुम्बिनी प्रदेशमा ८३ जना प्रदेश सभा सदस्य र २१२ स्थानीय सरकारका जनप्रतिनिधि मध्ये २९७ जनाले मत खसालेका थिए भने २ जनाको मत बदर भएको छ ।
निर्वाचनमा प्रदेशभरका तीन सय जनप्रतिनिधिले मतदान गर्नु पर्ने भएपनि स्थानीय सरकारतर्फबाट नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख धवल शमशेर राणा, बाँकेकै नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाह र गुल्मीको गुल्मी दरबार गाउँपालिकाका अध्यक्ष अशोककुमार थापा मतदानमा उपस्थित भएका थिएनन् ।