दाङ । केन्द्र हुदै प्रदेशमा आईपुगेको राजनीतिको दाउपेचमा राष्ट्रिय सभा सदस्यको उप–निर्वाचनमा गठन्धनले बाजी मारेको छ । लुम्बिनी प्रदेशमा सोमवार भएको राष्ट्रिय सभा सदस्यको उप–निर्वाचनमा नेकपा एमालेका उम्मेदवारलाई गठबन्धका उम्मेदवारले पराजित गरे ।
प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्षमा खडा भएको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जसपा(उपेन्द्र पक्ष)को गठबन्धन राष्ट्रिय सभाको निर्वाचनमा सफल देखिएको छ । तर, यो निर्वाचनमा नेकपा एमाले माधव पक्षका सांसदले घात गरेको नेताहरुको अड्कल छ ।
‘कसले भोट दिएन ? यो कुराको छिनोफानो नेतृत्वले गर्ने नै छ,’ नेकपा एमाले जिल्ला तहका एक नेताले भने–‘खास कहाँ बाट गडबडी भयो यो पत्ता लाग्ने छ ।’
नेकपा एमाले सहित जसपा(महन्थ)पक्ष गरी ४२ जना सांसद थिए । तर, यो गठन्धनका उम्मेदवार चन्द्रबहादुर खड्काले प्रदेश सभा तर्फ जम्मा ४० मत प्राप्त गरे । कांग्रेस सहित चाल दलको गठन्धनका उम्मेदवार दृगनारायण पाण्डेले ४२ मत प्राप्त गरे । प्रदेश सभा तर्फ ८३ मत खसेको थियो । तर, एक मत बदर भएको छ । बदर मत पत्रमा सूर्य र रुख दुवै चिन्हमा मतदान गरेको पाईयो ।
नेकपा एमालेका उम्मेदवार पराजीत भएपछी एमालेका नेताहरुको प्रतिक्रिया सामाजिक सञ्जालमा आउन थालेको छ । नेकपा एमालेकी नेता शान्ता चौधरीले निर्वाचनमा घात गर्ने सांसदलाई चार तारे झण्डा बोक्न सुझाएकी छिन् ।
‘यस्तो देख्ने दिन पनि आउँदो रहेछ । रुखमा छाप लगाई हाल्नु भयो अब त चार तारे झण्डा बोक्नुहोस कमरेड, के बाँकी भयो र !,’ एमालेका सांसदले विपक्षी गठन्धनमा मतदान गरेको आंशका गर्दै नेकपा एमालेका नेता शान्ता चौधरीले फेसवुकमा लेखेकी छिन्–‘दशकौंदेखि कम्युनिष्ट आन्दोलनमा विताएको राजनीतिक यात्रा राजनीतिक जीवनको उत्तरार्धमा कांग्रेसमा विलय भएको देख्दा खुशी त के लाग्नु, तपाईंको इतिहास पढ्नेले तपाईंलाई के भन्लान त्यस अर्थमा दुःख लाग्यो ।’
पाण्डेले स्थानीय तहमा ११८ मत प्राप्त गरे । एमालेका खड्काको पक्षमा स्थानीय तहमा जम्मा ९४ मत खस्यो । स्थानीय तहमा नेकपा एमालेको ९१, नेपाली कांग्रेस ६४, नेकपा माओवादी (केन्द्र) ३९, जसपा १३, राष्ट्रिय जनमोर्चा ५, राप्रपा २ र स्वतन्त्र ३ जना रहेको दाबी थियो । जस मध्य एमालेका उम्मेदवार खड्काले ९४ मत पाए । उनलाई पालिकामा पार्टी भन्दा बाहिरबाट मत आएको देखिन्छ । तर, प्रदेश सभा तर्फ भने जसपा(महन्थ) पक्ष सहितको गठन्धन अनुसार मत प्राप्त हुनुपर्ने ४२ मत थियो । तर, उनले ४० मत मात्रै प्राप्त गरे । गठबन्धनका पाण्डेको पक्षमा गठबन्धनको ४१ मत देखिन्थ्यो । तर, उनको पक्षमा ४२ मत आयो । नेपाली कांग्रेसका १९, माओवादी केन्द्र १९ (विमला वली सहित), जसपा उपेन्द्र पक्ष २ र राष्ट्रिय जनमोर्चाका १ सांसदगरी यो गठबन्धनमा ४१ सांसद गठवन्धनमा थिए ।