काठमाडौँ - प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्न सहमत भएका छन् । सर्वोच्च अदालत बारका प्रतिनिधिसँग मंगलबार भएको भेटमा राणाले आफूले सर्वोच्च अदालतको कार्यसञ्चालन नियमावली परिवर्तन गर्ने जानकारी दिएका हुन्।
भेटमा सर्वोच्च बारका पदाधिकारीले संवैधानिक इजलास विवादरहित ढंगले सञ्चालन गर्न प्रधानन्यायाधीश राणालाई सुझाव दिएका थिए। त्यसक्रममा राणाले संवैधानिक इजलाससम्बन्धी नियमावली परिर्वतन गरेर वरिष्ठताका आधारमा बेञ्च गठन गर्ने व्यवस्था गर्ने बताएका हुन्।
नयाँ नियमावली सर्वोच्चको फुल कोर्टबाट पारित गर्ने सहमति भएको सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले बताए। 'संवैधानिक इजलासको नियममै आवश्यकता अनुसार परिर्वतन गरी सिनियारिटीका आधारमा संवैधानिक इजलास गठन गर्ने र यसरी गठन गर्दा कन्फ्लिक्ट अफ इन्ट्रेस्ट वा स्वास्थ्यका कारण बस्न नसक्ने भयो भने कारणसहित नबस्ने नोटिस गरेपछि त्यसभन्दा तला वरिष्ठतामा जो छ, उसलाई राखेर बेञ्च गठन गर्न सम्माननीयज्यू सहमत हुनु भएको छ ।’ शाक्यले भने । उनले आजको बेन्च स्थगित हुने सम्भावना रहेको समेत बताए ।