बुटवल । लुम्बिनी प्रदेश नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतक फकरुद्धिन खानले मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकार अबैधानिक रहेको बताएका छन् । उनले नयाँ सरकार गठनका लागि मुख्यमन्त्री पोेखरेलले अबिलम्ब राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने बताएका छन् ।
लुम्बिनी प्रदेश सभाको आजदेखि सुरु भएको बजेट अधिवेशनको पहिलो बैठकमा बोल्दै सचेतक खानले भने,‘मुख्यमन्त्रीले अब आदर्श र नैतिकता देखाउनु पर्छ । उहाँले अबिलम्ब राजीनामा दिएर मार्ग प्रशस्त गर्नु पर्छ ।’
बहुमतका लागि ४१ जना सभासद्सहित दावी गर्नु पर्नेमा शंकर पोखरेलले एक जनाको किर्ते हस्ताक्षर गरी सरकारको दावी गरेकाले सरकारले बैधानिकता गुमाएको खानले बताए । खानका अनुसार संविधानको धारा १६८ उपधारा १ बमोजिम मुख्यमन्त्रीमा शंकर पोखरेल नियुक्त भएपनि अहिले सरकारको स्वरुप हेर्दा उपधारा २ बमोजिमको बन्न पुगेको उनले बताए ।
उनले भने–‘धारा १६८ उपधारा १ अनुसार सरकार गठन भएको भनिएको छ । तर व्यवहारिक रुपमा उपधारा २ को छ । उपधारा २ मा अब सरकारले विश्वासको मत लिनु पर्ने व्यवस्था छ । अब विश्वासको मत लिने कि नलिने भन्ने प्रश्न सरकारको अगाडि तेर्सिएको छ ।’
अझै अघि बढ्दै सचेतक खानले सरकार पुर्नगठन भएको आज बुधबार एक महिना पुगेको र आजसम्ममा सरकारले विश्वासको मत लिइसकेको हुनु पर्ने जिकिर गरे ।
त्यसबाहेक सोमबार सम्पन्न भएको राष्ट्रिय सभाको लुम्बिनी प्रदेशमा भएको उप निर्वाचनले पनि प्रदेश सरकार अल्पमतमा रहेको प्रष्ट सन्देश दिएको उनको भनाई थियो । उनले भने–‘सरकार अल्पमतमा रहेको कुरामा अब नेपाली कांग्रेस संसदीय दल स्पष्ट र प्रष्ट रहेको छ ।’
त्यस्तै उनले सरकारले फेरि संसद छलेर अध्यादेशबाट सरकारले बजेट ल्याएमा संसदीय व्यवस्थाको औचित्य पुष्टि नहुने बताए ।