बुटवल - नेकपा माओवादी केन्द्रका नेता सुदर्शन बरालले मुख्यमन्त्री शंकर पोखरेललाई तुरुन्त राजिनामा दिन आग्रह गरेका छन्। प्रदेश सभाको बैठकमा बोल्दै बरालले राजिनामा नदिए कानूनी र राजनीतिक प्रतिवाद जारी रहने चेतावनी दिए ।
'मुख्यमन्त्रीलाई छिटै नैतिकताको आधारमा राजिनामा दिन, सिंगो प्रदेशलाई अनिश्चय, द्वन्द र मुटभेटबाट अलग गर्न अनुरोध गर्न चाहान्छु ।' बरालले भने 'यदि त्यस्तो भएन भने विपक्षी गठबन्धनबाट राजनीतिक र कानूनी प्रतिवाद गर्ने जानकारी गराउँछु ।'
प्रदेश सरकारका पूर्वमन्त्री समेत रहेका बरालले मुख्यमन्त्रीले मूल्यमान्यतालाई विर्सेर राजनीतिक रसातालमा परेको आरोप लगाए । उनले प्रदेश प्रमुखको कार्यालयले सपथको कार्यक्रम छैन भनेर जानकारी गराएपनि मुख्यमन्त्रीले लगेर आफूले रातविरात सपथ गरेको उल्लेख गरे। 'मुख्यमन्त्रीको सपथग्रहण कार्याक्रममा प्रमुख प्रतिपक्ष दलको नेता जाने चलन छ सबै वरिष्ठ नेता जाने चलन छ ।’ उनले भने 'प्रदेशप्रमुखलाई बोराभित्र हाले जसरी मुख्यमन्त्रीकोमा लगेर र रातविरात सपथ गराइएको छ ।'