काठमाडौं । संघीय बजेटमा गिटी, बालुवा निकासी गरेर व्यापार घाटा न्यूनीकरण गर्ने सरकारको घोषणाको चर्को विरोध भएपछि अर्थमन्त्रालयले एक विज्ञप्ती जारी गर्दै चुरे संरक्षणमा सरकार सचेत रहेको बताएको छ ।
बुधबार अपराह्न जारी गरिएको उक्त विज्ञप्तिमा चुरे क्षेत्रको दोहन हुन नदिन र वातावरण संरक्षणमा नकारात्मक प्रभाव पार्न नदिन सरकार सचेत रहेको बताइएको छ ।
मन्त्रालयका प्रवक्ता महेश आचार्यले जारी गरेका विज्ञप्तीमा भनिएको छ–‘नेपाल सरकार चुरे क्षेत्रको संरक्षण र सम्बद्र्धन गर्न प्रतिवद्ध छ । चुरे क्षेत्रको दोहन हुन नदिन र वातावरण संरक्षण नकारात्मक प्रभाव पर्न नदिन सचेत रहेको छ ।’
प्रवक्ता आचार्यले चुरे क्षेत्रमा ढुंगा, गिटी, बालुवालगायत निर्माण सामग्रीको दोहन हुन नदिने नीतिको मूल मर्म भएको उल्लेख गरेका छन् ।
साथै मन्त्रालयले सरकारी निकाय, वातावरणविद्, विषय विज्ञ, सरोकारवालासँग छलफल गरेर प्राप्त सुझावका आधारमा कार्यविधि, निर्देशिका, मापदण्ड बनाएर अगाडि बढ्न सरकार प्रतिवद्ध रहेको उल्लेख गरिएको छ।