बुटवल- रुपन्देहीमा क्रियाशिल ५ राजनीतिक दलले सत्ता टिकाउन राष्ट्रिय श्रोत साधनलाई निहित स्वार्थ साधनको रुपमा दुरुपयोग गर्न खोजिएको आरोप लगाएको छ। सरकारले बजेट मार्फत ढु्ंगा गिट्टी निकासी गर्न दिने घोषणा गरेपछि जिल्लाका कांग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल पक्ष, जसपाको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाले त्यसको विरोध गरेका हुन्।
आइतबार संयुक्त विज्ञप्ती जारी गरी ५ दलले बजेट घाटा पुर्ति गर्ने भ्रम श्रृजना गर्देै राष्ट्यि श्रोत साधनको दोहन गर्ने नियतका साथ यस प्रकारको निर्णय भएको बताएको छ। 'यसले नेपालको तराई क्षेत्र मरुभूमिमा परिणत हुने र त्यहांका वासिन्दालाई बाढी, डुवान, पानीको श्रोत सुक्दै जाने समस्या देखिने निश्चित छ ।' विज्ञप्तीमा भनिएको छ 'नेपालको वातावरणीय क्षेत्रमा दुरगामी असर पर्छ भन्ने सामान्य आकलन समेत नगरी गरिएको यो निर्णय आफैमा आत्मघाती हो भन्ने हाम्रो ठहर छ ।'
अहिले प्रदेश सरकार, स्थानीय तह र प्रशासनको मिलेमतोमा रुपन्देहीका तिनाउ नदी, रोहिणी नदि, घोडाहा लगायतका नदीबाट अनियन्त्रीत रुपमा नदीजन्य पदार्थको उत्खनन् र निकासी भएको भन्दै तत्काल रोक्न उनीहरुले माग गरेका छन्।
कांग्रेसका जिल्ला सभापति अब्दुल रज्जाक, माओवादी केन्द्रका जिल्ला सचिव निर्मल जिसी, एमालेका नेपाल पक्षका जिल्ला अध्यक्ष राजु गुरुङ, जसपा यादव पक्षका जिल्ला अध्यक्ष रामअवतार यादव र राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष बद्रे आलमद्वारा जारी विज्ञप्तीमा प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदमले मुलुक अहिले संवैधानिक तथा राजनीतिक रुपमा गम्भीर अवस्थामा गुज्रिरहेको उल्लेख गरिएको छ । साथै हालै उपप्रधानमन्त्रीमा पदवहाली गरेका राजेन्द्र महतोको भनाईले राष्ट्यिता माथी गम्भिर खलल् पुग्ने ती दलले बताएका छन्।