काठमाडौँ - सत्तारुढ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताबद्ध बनाउन २०७५ जेठ ३ अघिको पूर्वास्थाबाट अगाडि बढाउन तयार रहेको घोषणा गरेका छन्।
एमालेका नेताहरु झलनाथ खनाल, माधवकुमार नेपालसहितका नेताहरु असन्तुष्ट भई पार्टी विभाजनको स्थितिमा पुगेका बेला अध्यक्ष एवं प्रधानमन्त्री ओलीले आइतवार छ बुँदे प्रस्तावसहित सबैलाई पार्टी एकतामा आउन आह्वान गरेका हुन्। उनले नेकपा (माओवादी केन्द्र) सँगको एकतापछि निर्मित तत्कालीन नेकपाको केन्द्रीय कमिटीमा रहेका र हाल एमालेमा आएका नेतासहित केन्द्रीय कमिटी र स्थायी कमिटीका संरचनाहरु क्रियाशील हुने जनाएका छन्।
राष्ट्रिय राजनीतिक उतार चढावसँगै पार्टी हित विपरीत लागेको भन्दै विभिन्न नेताहरुलाई कारबाहीको क्रम चलेका बेला दुवै पक्षका दोस्रो तहका नेताहरुले अनौपचारिकरुपमा एकताका लागि पहल गरेका थिए । त्यसैको प्रत्युत्तरमा अध्यक्ष ओलीले पार्टी कमिटी र जनसंगठनहरु मूलभूतरुपमा २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्केर क्रियाशील हुने तथा यसको व्यवस्थापनका लागि कार्यदल गठन गरिने पनि बताएका छन् ।
उनले प्रधानमन्त्रीबाट आफूलाई पदबाट हटाई विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन सर्वोच्च अदालतमा दायर रिटबाट पार्टीका निवर्तमान सांसदहरुले हस्ताक्षर फिर्ता हुनुपर्ने पनि प्रस्ताव गरेका छन्। अध्यक्ष ओलीले यसबीचमा भएका कारवाही फिर्ता गरिने र कुनै पुर्वाग्रह र भेदभाव नराखिने पनि स्पष्ट गरेका छन्।