काठमाडौं । नेकपा एमालेका माधवकुमार नेपाल समूहले संसद् पुनस्र्थापना माग राखेर सर्वोच्च अदालत दिएको रिटबाट हस्ताक्षर फिर्ता नलिने निर्णय गरेको छ ।
प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले एकताका निम्ति ६ बुँदे प्रस्ताव अघि सारेपछि धारणा बनाउन नेपाल समूहका स्थायी कमिटी सदस्यहरुको सोमबार बैठक बसेको थियो ।
बैठकले केपी ओलीले प्रस्तुत गरेको प्रस्तावको हस्ताक्षर फिर्ता लिनुपर्ने बुँदा गलत मनसायबाट आएको निष्कर्ष निकाल्दै अहिले नै हस्ताक्षर फिर्ता नलिने निर्णय गरेको हो ।
ओलीले आइतबार सार्वजनिक गरेको प्रस्तावको चौथो नम्बर बुँदामा ‘अदालतमा प्रस्तुत रिट निवेदनमा प्रयोग गरिएको हस्ताक्षर फिर्ता हुने हुने छ’ भन्ने उल्लेख गरेका छन् ।
ओली निकट नेताहरुले यसअघि अनौपचारिक वार्ताहरुमा पनि रिटबाट नेपाल समूहका नेताको हस्ताक्षर फिर्ताको प्रस्ताव राखेका थिए । तर माधव नेपाल निकट नेताहरुले भने पार्टी एकता जोगाउन यो प्रस्ताव नल्याउन आग्रह गरेका थिए ।
पार्टी एकताका निम्ति नेता नेपालले ओलीसँग राखेको ६ बुँदे प्रस्ताव कार्यान्वयन गर्नुपर्नेमा अहिले पनि अडिग रहने बैठकले निर्णय गरेको छ । तर ओलीले फेरि पनि एकताप्रति इमान्दार प्रयास नगरेर छलछाम गर्न खोजेको नेपाल समूहको आरोप छ ।